१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मन्त्रीहरु हेरफेरको तयारीमा प्रधानमन्त्री दाहाल, ६ चर्चित अनुहारको सरकारमा प्रवेश हुने !



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीहरु हेरफेरको तयारीमा जुटेका छन् । दाहालका अति निकट एक नेताका अनुसार, यो महिनाभित्रै मन्त्री हेरफेरको तयारीमा दाहाल पुगेका छन् । अब सरकारको एक वर्ष पनि पूरा हुन लागेको छ । त्यस अवसरमा मन्त्रीहरुको व्यापक हेरफेरको तयारी रहेको बताईन्छ । सत्तारुढ कांग्रेसले गृहमन्त्री र माओवादीले अर्थमन्त्रीको आलोचना गर्दै आएका छन् । दुवै पार्टीका नेताहरूले ती दुवै मन्त्री हेरफेरको प्रस्ताव गरेका थिए । माओवादीभन्दा पनि कांग्रेसबाट बढी दबाब आएको दाहाल निकट नेताहरु बताउँछन् ।

गृहमन्त्रीले साह्रै दुःख दिए फेरिहालौँ भन्ने कांग्रेसका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डलगायतका काण्डले गृहमन्त्री हटाएको सन्देश जाने डरले मन्त्रिमण्डल हेरफेर नभएको माओवादी नेताहरु बताउँछन् । प्रधानमन्त्रीले भने कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि राम्रो ‘पर्फर्मेन्स’ दिन नसकेको भन्दै सबै फेर्ने तयारी गरेका छन् । माओवादीका केही नेताहरुले प्रधानमन्त्री दाहाललाई आफ्नो सचिवालयमा पनि हेरफेरको आवश्यकता रहेको भन्दै ध्यानाकर्षण गराएको स्रोत बताउँछ । अहिलेको आर्थिक संकट समाधान गर्न सरकारले केही गर्न नसकेको आलोचना भइरहेको भन्दै त्यसको दोष माओवादीले लिनुपर्ने अवस्था आए पनि अर्थ मन्त्रालय कांग्रेसले सम्हालेको हुँदा तालमेल नमिलेको प्रधानमन्त्रीको गुनासो रहने गरेको छ ।

अब सरकारको सिंगो काम र मन्त्रीहरुको कामको समीक्षा गरेर निर्णय गर्नुपर्ने बेला आएको प्रधानमन्त्री दाहालले बताउँदै आएका छन् । “केही काम गरौँ भन्यो, अख्तियारको २२ बुँदे देखाउँछन्, अर्कोतिर अदालतले अघि बढ्नै दिँदैन,” प्रधानमन्त्री निकटका एक नेताले भने, “मन्त्रीहरुको अवस्था पनि त्यस्तै छ । विभागका महानिर्देशकले नै मन्त्री हल्लाइदिने हाम्रो सिस्टम छ ।” दाहालले सरकार सञ्चालन निम्ति सहयोग गर्न पनि बृहत् खालको टिम बनाउने तयारी गरेका छन् ।

“शीर्ष नेतामात्रै सहभागी भएको टिमले गरेका निर्णय पार्टीभित्रै कार्यान्वयनको तहमा समस्या देखियो,” दाहाल निकट स्रोतले भन्यो, “कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा, माओवादीबाट वर्षमान पुन, जनार्दन शर्मा, नेकपा एसबाट राजेन्द्र पाण्डे, घनश्याम भुसाललगायत समेटेर जानुपर्छ भन्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !