१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रचण्डपछि डा. भट्टराईलाई दोस्रो वरियताको नेता बनाउने माओवादीको तयारी



काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दोस्रो वरियता दिनेबारे छलफल थालेको छ । नेसपासँग पार्टी एकता गर्ने सहमतिपछि बाबुरामलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछिको दोस्रो वरियता दिने आन्तरिक तयारी भएको हो । अहिले माओवादीमा प्रचण्डपछिको दोस्रो वरियतामा नारायणकाजी श्रेष्ठ छन् । उनी पार्टीमा वरिष्ठ उपाध्यक्ष छन् । २०७२ सालमा माओवादी छाड्दा प्रचण्डपछिको दोस्रो वरियतामा बाबुराम नै थिए ।

माओवादीका एक पदाधिकारीले एकतापछि बाबुरामलाई अध्यक्ष प्रचण्डपछिको दोस्रो वरियता दिइने बताए । ती नेताले भने, ‘उहाँलाई वैचारिक क्षेत्रको जिम्मेवारी दिएर सेकेन्ड म्यान बनाउन लागिएको हो ।’ पार्टी एकतापछि बाबुरामसहित नेसपा नेताहरुलाई उचित जिम्मेवारी दिइने माओवादीका सचिव गणेश शाह बताउँछन् । अब चाँडै हुने विशेष महाधिवेशनले नेताहरुको पदबारे विधानमा उल्लेख गर्ने पनि उनले बताए । तर, नेसपाका सहअध्यक्ष तथा वार्ता समितिका संयोजक गंगानारायण श्रेष्ठले अहिले नेताहरुको वरियताबारे छलफल नभएको बताउँछन् ।

गत चैतमा बाबुरामले वार्ता टोलीका संयोजक श्रेष्ठमार्फत् माओवादीलाई पठाएको ९ बुँदे प्रस्तावमा अध्यक्षपछि दोस्रो वरियतामा एक सहअध्यक्षको व्यवस्था हुनुपर्ने उल्लेख थियो । मुख्यतः समाजवादी केन्द्र निर्माणको आवश्यकता सँगसँगै व्यक्तिको वरिष्ठता, क्रियाशीलता, योग्यता, क्षमता र प्रभावकारिताको आधारमा कम्तिमा नेसपाबाट ७ जनालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने प्रस्ताव छ । पार्टीमा सामान्यतः पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ । तर, आवश्यक परेमा माथिल्लो समितिको सदस्य तल्लो समितिमा पदाधिकारीसम्म बन्नसक्ने प्रस्तावमा छ ।

तर, एकतापछि भट्टराईलाई प्रचण्डले दोस्रो वरियता दिँदै गर्दा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ असन्तुष्ट हुन सक्ने देखिएको छ । माओवादीमा उनको बेग्लै धार छ । यसअघि महासचिवमा पनि जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेपछि प्रचण्डले देव गुरुङलाई अघि सारेका थिए । प्रचण्डले विप्लव च्यापेपछि शर्मा र पुन एक ठाउँमा उभिन बाध्य भएका छन् । उनीहरुलाई अर्का उपमहासचिव शक्ति बस्नेतले पनि साथ दिएका छन् । विप्लव पनि माओवादीसँग एकता गर्न सकारात्मक छन् ।


प्रतिक्रिया दिनुहोस !