१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

एक खर्ब ३७ अर्बको शेयर घाटामा बिक्रि गरि एनसेलबाट बाहिरियो आजियटा



काठमाडौं । मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको छ । आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको उल्लेख गरेको छ । तर, सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले नै पाउने सेयर खरिद सम्झौतामा उल्लेख भएको आजिआटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो । यसको सञ्चालकमा सतिशलाल आचार्य छन् । आचार्य एनसेलमा २० प्रतिशत हिस्सा भएको सुनिभेरा क्यापिटल भेन्चर्सका सञ्चालक पनि हुन् । आजिआटाले आफ्नो शतप्रतिशत सेयर रहेको रेनोल्डस् होल्डिङ लमिटेड बेलायती कम्पनीलाई बिक्री गरेको विज्ञप्तिमा उल्लेख छ । आजियाटाले सात वर्षअघि स्विडेनको टेलियासोनेरासँग रेनोल्ड होल्डिङ खरिद गरेको थियो । एनसेलमा रेनोल्डको शतप्रतिशत सेयर छ ।

आजिआटा सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यसबेला १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर उसले किनेको थियो । तर, त्यसको साढे सात वर्षपछि कम्पनी त्यसको तुलनामा अत्यन्तै काम मूल्यमा सेयर बिक्री गरी नेपालबाट बाहिरिने निर्णय गरेको छ । एनसेलको लाइसेन्स सन् २०२९ सम्म छ । विद्यमान कानूनअनुसार त्यसपछि त्यो लाइसेन्स सरकारको नाममा आउनेछ । त्यसो हुँदा लाइसेन्सको अवधिभरको डिभिडेन्ड आजियाटाले लिने, त्यसबीचमा आकस्मिक लाभ केही भयो भने त्यो पनि आजिआटाकै हुने गरी स्पेक्ट्रलाइट युकेसँग सम्झौता भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

एनसेललाई राज्यले दोहोरो कर लगाएका कारण सिर्जित वातारवण एवम् सन् २०२९ मा कम्पनीको मोबाइल लाइसेन्सको अवधि सकिँदै गएको अवस्थामा त्यो जोखिमलाई पनि ध्यान दिएर नेपालबाट बाहिरिने निर्णय गरेको उसले उल्लेख गरेको छ । सरकारले पटकपटक निर्धारण गरेको कर रकम सम्पूर्ण भुक्तानी गर्दा दोहोरो कर परेको र आफूले खरिद गरेको मूल्यको ६२ दशमलव ७ प्रतिशत कर तिर्नुपर्ने अवस्था सृजना भएको आजियाटाले दाबी गरेको छ । एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी २५ हजार रोजगारी सृजना गरेको र १ करोड ७० लाख ग्राहकलाई सेवा दिएको पनि जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !