१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

विदेशबाट १०० नेपाली ल्याएर राजेगारी दिने रविको बाचा पौने करोड खर्चको स्रोत नहुँदा फासफुस



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न ‘स्टन्टबाजी’ गरेर चर्चामा आइरहेन पात्र हुन् । सस्तो लोकप्रियताका लागि ‘जे पनि बोल्ने’ गरेको देखिन्छ । चितवन–२ बाट वैशाख १० गतेको उपनिर्वाचनअघि मतदातासँग उनले विभिन्न वाचा गरेका थिए । जसमा ब्लु बस सेवादेखि लिएर मोबाइल क्लिनिक, सार्वजनिक सुनुवाई, नमुना विद्यालय, स्वस्थ चितवन, हेल्लो रविलगायत छन् ।

रविले शुरु गरेको महिलाका लागि सञ्चालित ब्लु बसको एक महिना नपुग्दै रोकियो । त्यस्तै त्यतिबेला सबैभन्दा बढी चर्चित भएको थियो । त्यो हो, विदेशमा काम गर्ने एक सय नेपालीलाई स्वदेश फर्काएर यहीं रोजगारी दिने । सोहीअनुसार केही महिनाअघि विज्ञापनसमेत आह्वान गरे । मार्केटिङदेखि लिएर नर्ससम्मको विज्ञापन गरियो । कामअनुसार १८ हजारदेखि डेढ लाखसम्म तलब तोकियो । उनले विदेशबाट ‘फ्री टिकेट’ मा स्वेदश फर्काएर जागिर दिने भनेका थिए ।

उक्त विज्ञापन जापान, अष्ट्रेलिया, साउदी अरेबिया, दक्षिण कोरियामा नेपालीले सञ्चालन गरेको पत्रिका, अनलाइनले प्रकाशित गरेका थिए । उनको यो योजनामाथि धेरैले गफ ठोकेको भन्दै आलोचनासमेत गरे । दैनिक हजारौं नेपाली नागरिक कामका लागि विदेशिरहेका छन् । यस्तोमा विदेश गइसकेकालाई बोलाएर रोजगारी दिने कि विदेश जाने सोच बनाएकालाई यहीँ रोक्ने ऋणधन गरेर विदेश पुगेकालाई फिर्ता बोलाउनुकोे साटो ऋण लिएर जान लागेकालाई रोक्नु उचित हुने धारणा धेरैको थियो । प्रायःजसो सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका थिए, ‘देशमा भएकालाई पहिले रोजगारी दिऊँ । चाहे पढेको होस् या नहोस् । रोजगारी नसके सिपमूलक तालिम दिऊँ, अनि देश बन्छ । विदेशमा कमाएर राम्रो जीविका जीउँदै गरेकालाई केको तातो न छारो । स्टन्ट ।’

उतिखेर तडकभडकका साथ गरिएको विज्ञापन अहिले अलपत्र परेको छ । यता, रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले विदेशमा रहेका नेपालीलाई फर्काउने कार्य प्रक्रियामै रहेको दाबी गर्छन् । उनका अनुसार अहिलेसम्म पाँच सय जना बढीले आवेदन दिइसकेका छन् । विदेशबाट एक सय जना नेपालीलाई ‘फ्री टिकट’ मा स्वदेश ल्याउन झण्डै पौने करोड खर्च लाग्छ । त्यसका लागि ठूलै स्रोत जुटाउनुपर्ने हुन्छ । तर रविसँग विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याउन लाग्ने आर्थिक स्रोतको सुनिश्चितता हुने केही पनि आधार देखिदैन । अहिले रवि लामिछाने पनि पुरानै राजनीतिक दलका नेताहरु झै झुट बोल्ने, स्टन्टबाजी गर्ने नेताका रुपमा परिचित हुन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !