१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

रुसी सेनामा पठाउने गिरोहले प्रतिव्यक्ति ७ देखि २० लाख असुल्थे



काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीहरूलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले पत्रकार सम्मेलन गरेर आरोपीहरूलाई सार्वजनिक गरेका हुन् । पक्राउ पर्नेमा उदयपुर घर भएका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौँ घर भएका सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौँ– १६ घर भएका रोजल महर्जन, ३१ वर्षीय क्षितिज गिरी र सिराहा घर भएका १९ वर्षीय दिपेन परियार छन् ।

काभ्रे घर भएका सुवास लामा, चितवन घर भएका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्गा घर भएकी सुजता दाहाल, लमजुङ घर भएका ईश्वर अधिकारी र दाङको घोराही उपमहानगर पालिका घर भएका ३८ वर्षीय द्रोणा डाँगीलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ गरिएकाहरू दुई समूह हुन् । एउटा समूहको नेतृत्व ओखलढुङ्गा घर भएर गोकर्णेश्वर बस्ने २५ वर्षीय सुजता दाहाल र चितवन घर भएका २५ वर्षीय गोकर्ण अर्यालले गर्दै आएका थिए । अर्को समूहको नेतृत्व हरिबहादुर विश्वकर्मा र ईश्वर अधिकारीले गरेका हुन् ।

आरोपीहरूले भिजिट भिसामा दुबई तथा नेपालबाट सडक मार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गिरोहले प्रतिव्यक्ति ७ लाख देखि २० लाखसम्म असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गरेको भेटिएको छ । रसियाबाट निमन्त्रणा पत्र र भिजिट भिसा उपलब्ध गराएबापत गिरोहका सदस्य हरिबहादुर विश्वकर्माले १८ सय ५० अमेरिकी डलर पठाउने गरेको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

सेटिङ र टिकेटिङको लागि नेपालबाट शोभराजलाई भारतीय रुपैयाँ २ लाख पठाएको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूले पठाएको मध्ये ११ जना नेपाल फर्किएका छन् । ५–१० जनाको समूहबाट रसिया पठाउन सुरु गरेका आरोपीहरूमध्ये केही कन्सल्टेनी सञ्चालकहरू पनि छन् । केही कन्स्ल्टेन्सीले विज्ञापन नै गरेर रुसी सेनामा भर्ना गर्न भन्दै अन्तर्वार्ता समेत सञ्चालन गरेको खुलेको एसएसपी खत्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !