‘खानपान र आनीबानी परिवर्तन गरे न्यूनीकरण हुन्छ क्यान्सरको जोखिम’ « Name of Truth News : News Portal in Nepal
   ४ कार्तिक २०७८, बिहीबार
 |   Thu Oct 21 2021
Logo

‘खानपान र आनीबानी परिवर्तन गरे न्यूनीकरण हुन्छ क्यान्सरको जोखिम’



चितवन- विज्ञहरुले समयमा नै उपचार गर्न सके क्यान्सर रोग निको हुने बताएका छन्। खानपान, आनीबानीमा परिवर्तन गरेर क्यान्सर रोग लाग्नबाट बच्न सकिने उनीहरुको भनाइ छ। खानपानमा ध्यान दिने हो भने ४० प्रतिशत क्यान्सरको रोगी घटाउन सकिने उनीहरुको सुझाव छ।

विश्वमा वर्षेनी एक करोड ४० लाख मानिसमा क्यान्सर देखिने गरेको तथ्याङ्क छ। विश्वमा एक वर्षमा ७६ लाखभन्दा बढी मानिसको मृत्यु क्यान्सरकै कारण हुने जनाइएको छ। नेपालमा हरेक वर्ष एक लाखभन्दा बढी क्यान्सर हुने गरेको अनुमान गरिएको छ।

असी दशमलव नौ प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन्। नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बाशयको क्यान्सरका बिरामी धेरै हुने गरेका छन्।

कार्यकारी निर्देशक डा गौतम कतिपय क्यान्सरका रोगहरु आफैं परीक्षण गर्न सकिने बताउँछन्। ‘आफैँले छामेर वा लक्षणहरु हेरेर क्यान्सर हो/होइन पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘शरीरमा गिर्खा, गाँठागुठी देखिनु, कोठी, मुसाको रङ बदलिनु वा आकार बढ्दै जानु, लामो समयसम्म खोकी निको नहुनु, खाना निल्न गाह्रो हुनु, स्वर परिवर्तन वा धोद्रो हुनु क्यान्सरका लक्षण हुन्। यस्तै खकारमा रगत देखापर्नु वा लामो समयसम्म खोकी निको नहुनु, लामो समयसम्म दिसामा गोटा पर्नु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु पनि क्यान्सरको लक्षण हुन्।’

महिनावारी नभएको बेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाको पुनः रक्तश्राव हुनु वा महिनावारीको समयपछि रक्तश्राव हुनु, स्तनमा गाँठागुठी देखिनु, मुन्टोबाट रगत मिसिएको दूध आउनु वा मुन्टो दबिनु क्यान्सरका लक्षण हुन्। यसैगरी छोटो समयमै शरीरको वजन घट्नु, रक्तअल्पता देखिनु, ज्वरो आइरहनु, नाक, मुख, शरीरका अन्य छिद्रहरुबाट रगत आउनु पनि क्यान्सरका लक्षण भएको निर्देश डा गौतमले जानकारी दिए। यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल आउन पनि उनले सुझाव दिए।

अस्पतालका अध्यक्ष डा लामिछाने मानिसले व्यक्तिगत सरसफाइ र खानपानमा विशेष ध्यान दिन सकेमा क्यान्सर रोगबाट बच्न सकिने बताए। उनका अनुसार चुरोट, बिडी, खैनी, सूर्ती, जाँड, रक्सी र लागुपदार्थ सेवन नगर्ने, बासी, सडेगलेको र ढुसी परेको खानाहरु नखाने, पोलेर डढेको मासु र अन्य खानेकुरा नखाने गर्दा पनि क्यान्सरबाट बच्न सकिन्छ।

यसैगरी अखाद्य रङ प्रयोग गरिएका खानेकुराहरु नखान, चिल्लो बोसोयुक्त खानेकुरा र धेरै नुन नखान, आफ्नो गुप्ताङ्ग सधैँ सफा राख्न, मौसमअनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खान उनले सुझाव दिए। महिलाले आफ्नो गर्भाशय श्राव परीक्षण प्रत्येक वर्ष गर्ने हो भने पनि क्यान्सरबाट बच्न सकिने उनको सुझाव छ।

यस्तै महिलाहरुले स्तनमा गिर्खा, गाँठागुठी पलाएको छ/छैन प्रत्येक महिना आफैले राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीको परामर्श लिने गर्न सके स्तन क्यान्सरबाट बच्न सकिने डा लामिछाने बताउँछन्।

अस्पतालका पूर्व कार्यकारी निर्देशक डा आचार्य रोगका विषयमा जनचेतना जगाउन नसकिएको स्वीकार्छन्। ‘सबैभन्दा पहिले क्यान्सरबारे सचेतना फैलाउनुपर्‍यो। जसले रोकथाम र नियन्त्रण गर्न सकिन्छ,’ उनले भने। मानिसले समयमै थाहा पाएमा उपचारबाट निको हुन सक्ने भएकाले आम नागरिकसम्म यस रोगका बारेमा जनचेतना जगाउनुपर्ने उनको भनाइ छ। छिटो उपचार गर्न सकेमा निको हुने र खर्च कम लाग्ने उनले बताए।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्मा क्यान्सर समयमा नै पत्ता लगाएर उपचार गर्ने हो भने क्यान्सर पूर्णरूपमा निको हुने बताउँछन्। पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लाग्यो भने निको हुने सम्भावना पनि धेरै हुने उनको भनाइ छ।

करिब एकतिहाइ क्यान्सर स्वच्छ खानपिन र आहार बिहारबाट रोक्न सकिने बताउँदै उनले भने, ‘एकतिहाइ क्यान्सरको शुरुकै अवस्थामा उपचार गरेर निको पार्न सकिन्छ। बाँकी एकतिहाइ क्यान्सर रोग निको नहुने खालका हुन्छन्। त्यसलाई पनि विभिन्न खालका उपचारबाट बाँच्ने बेलासम्मका लागि जीवनोपयोगी बनाउन र मानवीय जीवन जिउन सक्ने बनाउन सकिन्छ।’

पछिल्लो अध्ययनअनुसार मानिसमा हुने क्यान्सर एक सयभन्दा बढी प्रकारका छन्। तर त्यसमध्ये केही क्यान्सर भने अत्यधिक मात्रामा मानिसमा हुने गरेको पाइन्छ। यो रोग मानव शरीरको कुनै पनि अङ्गमा हुन सक्दछ।

जनशक्तिको कमी

नेपालमा क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टीकरण आवश्यक रहेको औँल्याइएको छ। हरेक वर्ष ठूलो सङ्ख्यामा बिरामीहरु उपचारका लागि विदेश जाने गर्दछन्। विदेशिने रकम रोक्न र सस्तोमा सहज उपचारका लागि सेवा विशिष्टीकरण आवश्यक रहेको विज्ञहरुको भनाइ छ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछाने क्यान्सरका सबैजसो साधारण उपचार यहाँ गरिने भए पनि विशिष्टीकरण गर्न नसकिएको बताउँछन्। उनका अनुसार उच्च तहको प्रिसिसन रेडियो थेरापी गर्न सकिएको छैन। रोबटिक सर्जरी र बोनम्यारो प्रत्यारोपणजस्ता सेवा नेपालमा सहज उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।

युरोलोजिस्ट (मूत्ररोग विशेषज्ञ) समेत रहेका उनी जनशक्ति उत्पादन सहज हुन नसक्दा समस्या भएको धारणा राख्छन्। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नाम्स) बाहेक अन्यत्र क्यान्सरका विज्ञ जनशक्ति उत्पादन नभएको जनाउँदै उनले अस्पताललाई प्राज्ञिक थलो बनाउन सकिने धारणा राखे। यहाँ रहेका २२ जनाभन्दा बढी विज्ञ चिकित्सकलाई तालिम दिएर प्राध्यापकका रुपमा काम लिन सकिने जनाइएको छ। समयमै क्यान्सरका जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ। नर्सिङदेखि डिएमसम्मका क्यान्सरका जनशक्ति उत्पादन गर्न सकेमा उपचारमा सहज हुनेछ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्न सकिने बताउँछन्। ‘प्रशस्त जनशक्ति उत्पादन गर्न सके गाउँगाउँमा क्यान्सर पहिचान गर्न सहज हुन्छ,’ उनले भने।

अस्पतालका पूर्वकार्यकारी निर्देशक डा विजयचन्द्र न्यौपाने अस्पतालमा नर्सिङको पढाइ शुरु भएको जनाउँदै थप शैक्षिक कार्यक्रम ल्याएर नेपालकै नमूना प्रतिष्ठान बनाउन सकिने बताउँछन्। यहाँ रहेको पर्याप्त भौतिक पूर्वाधारसँगै जनशक्तिले प्रतिष्ठान सञ्चालन गर्न समस्या नरहेको जनाइएको छ। नेपालका ५० प्रतिशत क्यान्सरका रोगीहरु उपचारका लागि विदेश जाने गरेका छन्।

२१ वर्षमा प्रवेश गर्‍यो क्यान्सर

भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल २० वर्ष पूरा गरी २१ वर्ष प्रवेश गरेको छ। चीनको सहयोगमा स्थापित यो अस्पतालमा हाल ४५० शय्या रहेका छन्। अस्पतालले विभिन्न कार्यक्रमको आयोजना गरी अस्पतालको वार्षिकोत्सव तथा सतर्कता दिवस मनाउँदैछ।

कोरोना सङ्क्रमणका कारण जुम प्रविधि मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा कार्यक्रम गरिँदैछ। यस अस्पतालको स्थापना दिवसलाई नै सरकारले क्यान्सर सतर्कता दिवसका रुपमा मनाउँदै आएको छ। अस्पतालमा गत आर्थिक वर्षमा चार हजार ८९४ नयाँ क्यान्सरका रोगीको उपचार गरिएको छ। अस्पतालको तथ्याङ्कअनुसार गत आवमा एक लाख ४५ हजार ७७६ जनाको बहिरङ्ग सेवामा उपचार गरिएको छ। जसमध्ये ३२ हजार ८३१ नयाँ हुन्। अस्पतालले तीन हजार ९३९ जनाको शल्यक्रिया गरेको जनाएको छ।

अस्पतालले एक वर्षमा रक्तक्यान्सरका बिरामीलाई म्याक्स फाउन्डेसनबाट प्राप्त २० करोड १९ लाख रुपैयाँको औषधि निःशुल्क वितरण गरेको छ। यसैगरी विपन्नलाई १६ करोड र क्यान्सर सेवामार्फत रु ५२ लाखको औषधि वितरण गरिएको छ। ७० वर्षमाथिकालाई निःशुल्क सेवावापत रु १६ लाख ९६ हजार ३३५ र १५ वर्ष मुनिकालाई रु एक करोड ६७ लाख ४१ हजार ४९७ बराबरको उपचार निःशुल्क गरिएको छ।- रासस


प्रतिक्रिया दिनुहोस !


५४५ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना संक्रमित थपिएका छन्। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरिएको ६ हजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ८ लाख ७ हजार ५२२ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ११ हजार ३१५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ७२६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ। यही अवधिमा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस !

खानेपानी कार्यालय जनकपुरका प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए



खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । कुशवाहलाई नियन्त्रणमा लिएर कार्यकर्ताहरुले अर्धनग्न बनाई बजार परिक्रममा गरेका छन् ।

सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ । सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुव्र्यवहार गरेका हुन् ।

यसैबीच दुव्र्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता  विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी नरा जुलुस भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस !

पहिरोले एक दर्जनभन्दा बढी घर भत्किए



बैतडी वर्षाका कारण बैतडीका विभिन्न ठाउँमा स्थानीयका घर भत्किएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका-४ स्थित राजेन्द्र खत्रीको दुई तले घर र वडा-६ स्थित हरिसिंह धनाडीको दुई तले निर्माणाधीन पक्की घर भत्किएका छन् । घर भत्किएपछि अहिले उनीहरूका परिवारका सदस्यहरूलाई आवासका लागि समस्या भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए ।यसैगरी जिल्लाको पुर्चौडी नगरपालिका-६ त्रिकालीमा एउटा घर पहिरोमा पुरिएको छ । पहिरोमा परी स्थानीय वसन्ती साँउदको घर पुरिएको नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर-१ समन्वय समितिका संयोजक कर्णबहादुर कुँवरले बताए ।

पहिरोमा घर पुरिँदा खाद्यान्न, लत्ताकपडा र सरसमानसहित पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ । यसैगरी दशरथचन्द नगरपालिका-४ जर्गमा रहेको तारादत्त पाण्डेयको घर आंशिक पुरिएको छ भने सोही गाउँका अकबर मालको गोठ पहिरोमा पुरिएको छ ।

जिल्लाको मेलौली नगरपालिका-३ को पुजारा गाउँका गौरसिंह भाटको पसलमाथिबाट आएको पहिरोले पसल पुरिँदा २० हजार रुपैयाँ बराबरका मालसामान नष्ट भएको स्थानीय नरीराम पार्कीले बताए । सोही ठाउँका दानीराम पार्कीको घरमाथिबाट पहिरो खस्दा दानीरामकी श्रीमती मानमती घाइते भएकी छन् । यसअघि शिवनाथ-६ मा मंगलबार एउटा घर भत्किँदा तीन जनाको ज्यान गएको छ भने सुर्नया-५ मा घर भत्किँदा एक जनाको ज्यान गएको छ । जिल्लाको सिगास-५ ढुंगाडमा पहिरोले स्थानीयका पाँचवटा घर पुरिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: