२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

फोरजी प्रयोगकर्ता एक महिनामै ३४ हजारले घटे



नेपालमा चौथो पुस्ताको इन्टरनेट (फोरजी) प्रयोग गर्नेको संख्या घटेको देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० भदौको एमआईएस रिपोर्टअनुसार फोरजी प्रयोगकर्ता घटेको देखिएको हो।

२०८० साउनको तुलनामा २०८० भदौमा फोरजी प्रयोगकर्ता ३३ हजार ८६८ जनाले अर्थात ०.१६ प्रतिशतले घटेको छ। साउनमा फोरजी प्रयोगकर्ता २ करोड २ लाख ५४ हजार ३९ रहेकोमा भदौमा २ करोड २ लाख २० हजार १७१ मा झरेको प्राधिकरणको रिपोर्टमा देखिन्छ।

हाल नेपाल दुई दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेल आजियाटाले फोरजी सेवा प्रदान गरिरहेका छन्। नेपाल टेलिकमको १ करोड ३३ लाख ७८ हजार ८३३ र एनसेल आजियाटाको ६८ लाख ४१ हजार ३३८ फोरजी प्रयोगकर्ता छन्।

एक महिनाको अवधिमा नेपाल टेलिमकको फोरजी ग्राहक बढेको देखिन्छ भने एनसेल आजियाटाको घटेको देखिन्छ। साउनमा नेपाल टेलिकमको १ करोड ३१ लाख ९७ हजार ११४ र एनसेल आजियाटाको ७० लाख ५६ हजार ९२५ फोरजी प्रयोगकर्ता थिए। भदौमा भने नेपाल टेलिकमको १ करोड ३३ लाख ७८ हजार ८३३ पुगेको छ भने एनसेल आजियाटाको घटेर ६८ लाख ४१ हजार ३३८ फोरजी ग्राहक रहेको देखिन्छ।

यस अवधिमा नेपाल टेलिकमको फोरजी ग्राहक १ लाख ८१ हजार ७१९ ले बढेको छ भने एनसेल आजियाटाले २ लाख १५ हजार ५८७ ग्राहक गुमाएको छ।


प्रतिक्रिया दिनुहोस !