२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

नोट अफ डिसेन्ट : अरु देशको सेना सिमानामा लड्छ, हाम्रो सेना बारुद ल्याउन नसक्ने बेईमान ठेकेदार बन्ने बाटोमा !



अहिलेसम्म नेपालमा तुलनात्मक रुपमा नेपाली सेनालाई आर्थिक भ्रष्टाचारमा सिंगो संस्थाकै बदनाम हुने गरि विवादमा नमुछिएको संस्थाका रुपमा लिने गरिन्छ । तर नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएको काठमाडौं द्रूतमार्ग (फास्ट ट्र्याक) को ठेक्का पाएपछि भने नेपाली सेना दिनानु दिन विवादमा मुछिर्दै आएको छ । नेपाली सेनाको काम भनेको विकास निर्माणभन्दा पनि कुनै विदेशी शत्रुबाट देशलाई जोगाउने हो । देशमा संकटकालीन अवस्थामा परिचालन गरिने, प्रकृतिक प्रकोपबाट मानवीय उद्धार गर्नेलगायतका विभिन्न काम र कर्तव्य नेपाली सेनाको हो परन्तु ५ वर्ष अघि नेपाल सरकारले नेपाली सेनालाई ठेकेदार बन्न आग्रह गरेको भन्दै सेनाको आलोचना भईरहेको छ । सैनिक अधिकृतहरुको एकपछि अर्को नागरिता विवादले नेपाली सेनाका विषयमा चर्को आलोचना भईरहेको छ ।

यसै बीच कांग्रेसका महामन्त्री सांसद गगन थापाले पनि बुधवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै नोपली सेनको चर्को आलोचना गरे । सेनाले समयमै सक्छ भनेर फास्ट ट्र्याक सुम्पिइएको तर ६ वर्षको प्रगति हेर्दा निराशाजनक अवस्था रहेको बताए । ‘पारदर्शितामा सेना मात्रै होइन सबै पक्ष गम्भीर हुनुपर्छ। सेना संस्था हो, त्यसको जबाफदेहिता हेरिनुपर्छ। महालेखाले उठाएका प्रश्नको समाधान हुनुपर्छ। उनले द्रुतमार्ग निर्माणका क्रममा भएको प्याकेज ८, ९, १० को खरिद प्रक्रिया किन ढिला भयो भन्दै प्रश्न समेत गरे । त्यती मात्रै होईन, रास्वपाका सभापति रवि लामिछानेले नेपाली सेनाको आलोचना गर्दै फास्ट ट्र्याक होईन, चिप्ले किरा ट्र्याक भनौँ भन्दै कटाक्ष गरे । त्यति मात्रै होईन आजकै बैठकमा सांसद रघुजी पन्त, राजेन्द्र पाण्डेले पनि नेपाली सेनाका बारेमा प्रश्न उठाए । समान्यतया मानिसहरुमा नेपाली सेना पनि भ्रष्ट हुन थालेको होकि भन्ने आशंका बढेको छ ।

नोट अफ डिसेन्ट

नेपाली सेना एउटा रक्तरन्जित इतिहास बोकेको सेना हो । तर पछिल्लो समय नेपाली सेनाको छवी एकपछि अर्को गरि धुमिल हुँदै गएको छ । नेपाली सेनामा अझै पनि सांगठानिक पुनसंरचनाका विषयमा पनि पटक-पटक बहस उठ्ने गरेको देखिन्छ । सरकारले आफ्नो सेनालाई सीमा रक्षा, सार्वभौम अखण्डताको रक्षा गर्न परिचालन गर्नु पर्ने ठाउँमा उल्टै सडक निर्माणको जिम्मा दिएर अनाआवश्यक रुपमा विवादमा फस्न थालेको छ । नागरिता विवादले आलोचनाको केन्द्र बनिरहेको नेपाली सेनाले ६ वर्षमा फास्ट ट्र्याकको कार्य जम्मा २८ प्रतिशत काम सम्पन्न भएको जानकारी गराएपछि नेपाली सेनाको व्यवसायीक क्षमतामाथि मात्रै नभई, नेपाली सेना भित्र केही आर्थिक अनिमितताका कारणले कछुवा गतिमा निर्माण कार्य अघि बढेको त होईन ? भन्दै चौतर्फी प्रश्न उब्जिएको छ ।

महालेखाको प्रतिवेदनमा पनि अरबौँको बेरुजू देखिदा मानिसहरुको आशंकामा बल पुगेको छ । नेपाली सेनामाथि अख्तियार, सार्वजनिक लेखा समितिले छानबिन गर्न नपाउने भएकाले नेपाली सेनाले जिम्मा लिएको द्रूतमार्ग निर्माणमा ठूलो आर्थिक हिनामिना भएको आशंका गरिन थालिएको छ । त्यस्तै नेपाली सेनाले गोली गट्ठा र बारुदको आयात गर्न नसक्दा फास्ट ट्र्याकको निर्माण सुस्त गतिमा गएको निरिह जवाफ दिँदै आएको छ ।

आज सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि बारुदको आयात गर्न नसक्दा फास्ट ट्र्याकको निर्माण सुस्त भएको दाबी गरेपछि एमाका सांसद रघुजी पन्तले सेनापति पाण्डेलाई बैठकमै झपारे । सेनाले आफ्नो लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद पनि आफूले उत्पादन गर्न सक्दैन भन्दै प्रश्न गरे । ढुङ्गा फोड्न, पड्काउन, अरूको मुख हेरेर ताक्नुपर्ने हो? ’ ‘कुनै बेला वारमा जानुपरे कति दिन थेग्छौँ ? हामीले हाम्रो गोली गट्ठाले देश आत्मनिर्भर हुनुपर्दैन आफ्नो रक्षामा ? भन्दै प्रधानसेनापति पाण्डेलाई झपारे । अरु देशका सेना दिनरात आफ्नो सीमामा खटिन्छन् तर कही नभएको जात्रा हाँडी गाउँमा भनेझै नेपाली सेना भने बदनाम ठेकेदारका रुपमा चिनिन थालेको छ । सेनाले सरकारले विश्वास गरेर जिम्मा दिएको फास्ट ट्र्याकको काम सम्पन्न गरेर आफ्नो धुमिल हुन लागेको छवी बचाउन जरुरी छ । अन्यथा नेपाली सेनालाई पनि देशको रक्षा गर्ने स्थायी संस्थाभन्दा पनि भ्रष्ट, बदमास र बेईमान ठेकेदारको पगरी हात पर्ने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस !