१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

वरिष्ठ गायक योगेश वैद्यको निधन



नेपाली आधुनिक संगीतका सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्यको निधन भएको छ । विहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उहाँको निधन भएको हो ।

उहाँकी शिष्या एवं गायिका रीता महर्जनले दिनुभएको जानकारी अनुसार विहीवार दिउँसो उहाँलाई केही असहज महसुस भएको थियो भने बेलुकी सिकिस्त भएपछि अस्पताल लगिएको थियो । उहाँ लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँ ७७ वर्षको हुनुहुन्थ्यो ।
गएको माघ १ गते मात्रै उहाँलाई गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानद्वारा ‘धुस्वां सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कार समारोहमा उहाँ आफै उपस्थित हुन नसकेका कारण भिडियो सन्देश मार्फत आफ्नो मन्तव्य राख्नुभएको थियो । हिँड्न केही असहज भए पनि त्यतिबेला उहाँको स्वास्थ्य भने सामान्य नै थियो ।  

दिवंगत गायक योगेश वैद्यका नेपाली र नेपालभाषामा थुप्रै लोकप्रिय गीतहरू रहेका छन् । नेपाली भाषामा उहाँका ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ…’, ‘मेरो आँशुमा नहाँसे….’, ‘नेपाल मेरो उपहार भो…’ आदि गीतहरू लोकप्रिय छन् । त्यस्तै नेपालभाषाय् ‘जय नमो सिरि बुद्ध भगवान…’, ‘जिमि यःम्ह थौं जिथाय् वइ….’ आदि अत्यन्त लोकप्रिय छन् ।

आज शुक्रवार पशुपतिस्थित आर्यघाटमा उहाँको अन्तिम संस्कार गरिने तयारी रहेको जानकारी पारिवारिक स्रोतले दिएको छ । उहाँका दुई छोरी र एक छोरा हुनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस !