१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

के आत्मविश्वासले रोगलाई जित्छ ?



freedom woman raised arms to sunrise on mountain top in the moring

‘मलाई क्यान्सर भएको थाहा पाउनेबित्तिकै केही सेकेण्ड म स्तब्ध भएँ । तर केही क्षणपछि मैले जति सक्दो चाँडो यस रोगबाट छुट्कारा पाउने अठोट गरें ।’

यो भनाइ भारतको गाजियाबाद क्षेत्रमा बस्ने अनिता शर्माको हो । जब आफूलाई स्तन क्यान्सर भएको उनले थाहा पाए, नराम्रो झट्का लाग्यो । यो कुराले परिवारमा तनावग्रस्त माहोल बन्यो । तर अनिताले हार मानिनन् ।

उनले क्यान्सर लागेको सुनेको एक सातापछि नै स्तनको शल्यक्रिया गराइन् । क्यान्सर लागेपछि आफू कुनै गम्भीर रोगबाट पीडित छु भन्ने सोचाइलाई कहिल्यै आफूमा हाबी हुनन् दिएको उनी बताउँछिन् । सन् २०१३ अनिताको स्तनको शल्यक्रिया भएको थियो । उनी अहिले सामान्य जीवन मात्र बिताइरहेकी छैनन्, अरुलाई पनि सकारात्मक सोच राख्न प्रेरित पनि गरिरहेकी छन् ।

योग र व्यायामले कसरी आत्मविश्वास बढाउँछ ?

उनी दैनिकजसो व्यायाम गर्छिन् । अरुलाई योग र ध्यान पनि सिकाउँछिन् । अनिता शर्माको इच्छाशक्तिले उनलाई कहिल्यै कमजोर हुन दिएन । उनलाई थाहा थियो कि उनको रोग चुनौतीपूर्ण थियो । तर उनी आफ्नो दृढ विश्वासले यसलाई सामना गर्न सक्षम भइन् ।

आफूमा विश्वास भए शारीरिक र मानसिक रुपमा बलियो बन्न सकिने विज्ञहरु बताउँछन् । यसै सन्दर्भमा मिसिसिपी स्टेट युनिभर्सिटीको एक्सरसाइज फिजियोलोजी विभागकी डा. जाचरी एम गिलेन भन्छिन्, ‘आत्मविश्वासले आफूलाई उत्प्रेरित गर्न मद्दत मात्र गर्दैन, सोचाइमा सकारात्मक प्रभाव पार्छ । आत्मविश्वासले शरीरमा आत्मबल बढाउने इपिनेफ्राइन, एड्रेनालाइन र नोराड्रेनालाइन हार्मोनको स्तर बढाउँछ ।’

डा. गिलेनका अनुसार यदि पूरै आत्मविश्वाससँगै व्यायाम पनि गर्ने हो भने मांसपेशीहरुको शक्ति पनि बढाउन सकिन्छ । एथलेटिकहरु बलियो हुनुको रहस्य पनि यही हो । ‘मांसपेशी जति बलियो र ठूलो भयो शरीर उत्तिकै बलियो र स्वस्थ हुन्छ । जस्तै, एथलेटहरुको मांसपेशीको आकार ठूलो हुनुका साथै बलियो पनि हुन्छ,’ उनी भन्छिन् ।

डा. गिलेनका अनुसार मांसपेशी शरीरको आवश्यकताअनुसार आफ्नो भूमिका निर्धारण गर्न सक्षम छन् । ‘आम मानिसले हरेक क्रियाकलाप एउटा खेलाडी जस्तो प्रदर्शन गर्न सक्षम नहुन सक्छन् । तर लगातार प्रयासले त्यस्ता व्यक्ति पनि आफ्नो प्रदर्शन सुधार गर्न सक्छ । साथै, व्यायाम, योगसँगै सकारात्मक सोच राख्ने हो भने जो पनि आफ्नो लक्ष्यमा केन्द्रित गर्न सहयोगी साबित हुनसक्छ,’ डा. गिलेन भन्छिन् ।

जुन क्यान्सर फाइटर अनिता शर्माको हकमा प्रष्ट देखिन्छ । उपचारका क्रममा उनको दाहिने हात नै खराब भएको थियो ।

अनिता त्यो क्षण सम्झिंदै भन्छिन्, ‘किमोथेरापी गलत ढंगले औषधि चढाइएको कारण मेरो हात एक्कासि सुन्निएको थियो । त्यति मात्र होइन, मेरो दाहिने हातको तीनवटा औंलाले काम नै गर्न सकेको थिएन ।’

त्यस समय उनलाई हातले आगामी दिनमा काम गर्न सक्दैन भन्ने लागेको थियो । तर उनले हिम्मत हारिनन् । र, जति सकिन्छ त्यति बिस्तारै-बिस्तारै औंला चलाइराखिन् । फलस्वरुप औंला बाङ्गो भएपनि अहिले चाहे रोटीको लागि पीठो मुस्न होस् वा कुनै भारी सामान उठाउन उनलाई यस्ता काम गर्न कुनै समस्या हुँदैन ।

आफूलाई कहिले असहाय महसुस नगरौं

मानिसले कुनै पनि परिस्थितिमा आफूलाई असहाय ठान्नु हुँदैन । र, आत्मविश्वास नै सबैभन्दा ठूलो शक्ति हो भन्ने कुरामा अनिता विश्वास राख्छिन् । जुन उनले पनि आफ्नै जीवनमा लागू गरेर क्यान्सर विरुद्धको लडाइँ जितिन् ।

उनी स्तनको शल्यक्रियापछि पनि पूर्णरूपमा ओछ्यानमा सुतेर बस्न चाहिनन् । उनी शल्यक्रियाको भोलिपल्टदेखि शौचालय जान समेत कसैको सहयोग लिइनन् । उनी सकारात्मक सोचमा जोड दिन्छिन् । व्यायामले शरीर बलियो बनाउँछ र सकारात्मक सोचले मानसिक बल बढ्छ । हरेक कठिनाइ वा चुनौती सानो लाग्ने अनिताको अनुभव छ ।

मनोरोगको पनि औषधि हो व्यायाम

विज्ञहरुका अनुसार मानसिक समस्या धेरै गम्भीर नभएको खण्डमा योग र व्यायामको सहयोगले काफी हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

देहरादूनका वरिष्ठ मनोचिकित्सक डा. जेएस बिष्ट भन्छन्, ‘शारीरिक तन्दुरुस्तीले मांसपेशी बलियो बनाएर शारीरिक क्षमता मात्र बढाउँदैन, यो मानसिक स्वास्थ्यको दृष्टिकोणले पनि धेरै महत्त्वपूर्ण साबित हुन्छ ।’

डा. बिष्टका अनुसार डर, डिप्रेसन, एन्जाइटी जस्ता मानसिक समस्या हटाउन नियमित व्यायामभन्दा राम्रो अरू केही हुन सक्दैन । मानसिक र शारीरिक स्वास्थ्यलाई छुट्टाछुट्टै हेर्न नसकिने र त्यसमा आत्मविश्वासको पनि महत्वपूर्ण भूमिका रहेको डा. बिष्ट बताउँछन् ।

विश्व स्वास्थ्य संगठनको परिभाषामा पनि दुवैलाई एकअर्काका पूरक मानिन्छ । उनी भन्छन्, ‘धेरै मनोचिकित्सकले आफ्ना बिरामीहरूलाई औषधिसँगै नियमित व्यायाम गर्न सल्लाह दिन्छन् । किनभने शारीरिक रूपमा सक्रिय व्यक्तिलाई मानसिक चुनौती पार गर्न सहज हुन्छ ।’

मानिस जुनसुकै उमेरमा भएपनि व्यायाम अवश्य गर्नुपर्छ, किनभने यसका धेरै फाइदा हुने उनको भनाइ छ ।

-व्यायाम गर्नाले मांसपेशी बलियो बनाउँछ । र, शरीरले गर्न सक्ने गतिविधिको दक्षता बढ्छ ।

-शरीरमा तन्दुरुस्ती र बलको लागि जगिङ, एरोबिक्स, डोरी खोल्ने जस्ता नियमित गतिविधि लाभदायक छन् ।

-ब्याडमिन्टन, टेबलटेनिस जस्ता खेल खेल्दा पनि शारीरिक क्षमता बढ्छ ।

यदि यस्ता क्रियाकलाप गर्न सम्भव छैन भने केही समय दैनिक हिंड्ने प्रयास गर्न सकिन्छ । बुढेसकालमा स्मरणशक्ति कायम राख्न सूक्ष्म व्यायाम निकै प्रभावकारी हुन्छ ।

तर यस्ता व्यायाम गर्दा केही पक्षमा भने विशेष ध्यान दिनुपर्छ । व्यायाम हतारमा गर्न हुँदैन । सकेसम्म आरामसँग बिस्तारै शरीर तन्काउँदै व्यायाम गर्नुपर्छ । जहाँसम्म तौल उठाउने कुरा छ, हतारिएर भारी तौल उठाउन हुँदैन । यसको लागि कुनै दिन कम तौल र कुनै दिन धेरै तौल उठाउने प्रयास गर्नुपर्छ । यसबाट मांसपेशीले शरीरको आवश्यकतालाई सजिलै तालमेल मिलाउन सक्छ । र, ठूलो गम्भीर चोटपटक लाग्ने सम्भावना हुँदैन ।

बीबीसीबाट


प्रतिक्रिया दिनुहोस !