१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

कोशीमा अस्पतालको नाम बदल्ने होड: सरकार फेरिएपिच्छे फरक नाम



तस्बिर: शेखर कोइरालाको सचिवालय।

आफ्नै दल र गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेर कोशी प्रदेशको सत्ता सम्हालेका मुख्यमन्त्री केदार कार्कीले जिम्मेवारी लिएको सोमबार (आज) सय दिन पूरा भएको छ।

सय दिन पूरा गरेकै दिन मुख्यमन्त्री कार्कीले एउटै अस्पतालको नाम फेरेर अर्को अस्पताल सञ्चालनको थालनी गरेका छन्। शैलजा आचार्य हृदय रोग केन्द्रका नाममा सोमबार उद्घाटन भएको अस्पताल यसअघि दुई फरक नाममा प्रदेश सरकारले सञ्चालन गरेकै अस्पताल हो।

‘कोशी प्रदेशमा हृदयरोग उपचार केन्द्रको आवश्यकता टड्कारो रहेका कारण यो अस्पताल प्रदेशको उपलब्धि हो,’ मुख्यमन्त्री कार्कीले भन्दै आएका छन्, ‘आवश्यकताअनुसार अस्पतालको रुपान्तरण हुन्छ।’

सोमबारदेखि हृदय रोग उपचार सुरू भएको यो अस्पताललाई सरकार फेरिएपिच्छे नाम र काम फेर्ने अनौठो होड चलेको छ।

प्रदेश सरकारमा नेतृत्व फेरिएपिच्छे अस्पतालको नाम र काम फेर्ने होड चल्नुका पछि काम देखाउने लोभ मुख्य कारण रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्।

‘अस्पताल खुल्नु नराम्रो होइन तर सरकार फेरिएपिच्छे एउटै अस्पतालाई नाम फेर्दै चलाउँदै गर्नु राम्रो होइन,’ प्रदेश स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘हृदयरोग केन्द्र अन्यत्रै बनाएर यसलाई संक्रामक रोग उपचारकै रुपमा निरन्तरता दिइनुपर्थ्यो। तर राजनीतिक निर्णय गर्ने बेलामा नेतृत्वले काम देखाउने सजिलो उपाय खोज्दै आएको छ।’

प्रदेशका पूर्वस्वास्थ्यमन्त्री जयराम यादवले घुमाउरो रुपमै भए पनि यसलाई स्वीकारेका छन्।

‘सबैको आ–आफ्नो लजिक हुँदो रहेछ’, उनले भने ‘हामीभन्दा अघिको सरकारले कोभिड अस्पताल बनायो, हामीले सबै संक्रामक रोग उपचार केन्द्रमा रुपान्तरण गर्‍यौं। अहिलेको सरकारले हृदयरोग केन्द्र बनायो। झट्ट हेर्दा सरकार फेरिएपिच्छे अस्पतालको नाम फेरिएको देखिन्छ। यो आ–आफ्नो योजनाको परिणाम होला।’

सोमबारदेखि हृदय रोग केन्द्रमा रुपान्तरण भएको अस्पताल सुरुमा कोभिड अस्पताल थियो। त्यसबेला विश्वव्यापी रुपमा कोभिड १९ को त्रास बढ्दै थियो।

संघीय सरकारभन्दा धेरै अघिदेखि नै कोभिडविरुद्ध सतर्कता देखाइरहेको मुख्यमन्त्री शेरधन राई नेतृत्वको तत्कालीन प्रदेश १ (हाल कोशी) सरकारले विराटनगरमा कोभिडका लागि एउटा ‘डेडिकेटेङ’ अस्पताल निर्माणको तयारी थाल्यो।

सोहीअनुसार प्रदेश सरकारले २०७६  चैत ७ गते ५० शैय्याको ‘कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र’  सञ्चालनमा ल्याउने निर्णय गर्यो।

लगत्तै सञ्चालनमा आएको अस्पतालले कोभिडको पहिलो, दोस्रो लहरमा उदाहरणीय सेवा दियो। सबैले प्रदेश सरकार र  तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरेको सक्रियताको प्रशंसा गरे।

नेशनल ट्रेडिङ कम्पनीको पुरानो गोदाम भवनमा निर्मित अस्पतालमा प्रदेश सरकारले स्वास्थ्य उपकरणदेखि अन्य सम्पूर्ण व्यवस्थापनका लागि ठूलो धनराशी खर्चेको थियो। ‘त्यसबेला निजी क्षेत्र र सरकारको गरी १० करोडभन्दा बढी खर्च भएको थियो’, पूर्वस्वास्थ्यमन्त्री यादवले भने, ‘पछि स्वीस सरकारले पनि सहयोग गरेको थियो।’

कोभिड महामारी राम्रोसँग नियन्त्रणमा आएकै थिएन, आर्थिक वर्ष २०७८–७९ मा प्रदेश सरकारले यो अस्पताललाई प्रादेशिक प्रसूति तथा स्त्री रोग अस्पतालमा रुपान्तरण गर्ने भन्दै बजेट विनियोजन गर्‍यो। त्यसअघि नै करोडौं रकम खर्चेर बनेको कोभिड अस्पताललाई प्रसूति अस्पताल बनाउन भन्दै तत्कालीन सरकारले ‘अध्ययनका लागि’  भन्दै थप  १२ लाख रुपैयाँ विनियोजन गर्‍यो।

यो निर्णय कार्यान्वयन नहुँदै सरकार फेरियो। राजेन्द्र राई नेतृत्वमा बनेको सरकारमा जसपाका जयराम यादव स्वास्थ्यमन्त्री बने। उनले फेरि अस्पतालाई अर्कै रुप दिने तयारी थाले।

२०७९  भदौ ३१ गतेको मन्त्रिपरिषद निर्णयअनुसार त्यही वर्षको असोज २ मा यो अस्पताललाई ‘संक्रामक रोग तथा सघन उपचार केन्द्र’ रुप दिइयो। अर्कै स्वरुपमा अस्पताल सन्चालन सुरु भयो।

अहिलेको सरकारले फेरि यो अस्पताललाई शैलजा आचार्य हृदयरोग  केन्द्रका नाममा सोमबार उद्घाटन गरेको छ।

आर्थिक वर्ष ०८०/०८१ को प्रतिस्थापन बजेट ल्याउँदा यो अस्पताललाई शैलजा आचार्य हृदय रोग केन्द्र बनाउनका लागि ५ करोड ५० लाख बजेट विनियोजन गरेको थियो। आफूले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा कार्कीले सोमबार अस्पताल उद्घाटन गराएका छन्।

कोभिड उपचार केन्द्र बनाउँदा १७५ जनाको दरबन्दी रहेको अस्पतालमा ६१ हुँदै अहिले ४२ जनाको दरबन्दी छ। ६ जना चिकित्सकले सेवा दिने स्वास्थ्य सचिव डा. सुधा देवकोटाले जानकारी दिइन्।

सरकार आएपिच्छे नीति परिवर्तन र प्राथमिकता परिवर्तन गरेर एकै ठाउँमा बर्सेनि नयाँ उपचार केन्द्र स्थापना हुनुलाई कर्मचारीहरुले अस्थिर सरकार हुँदाको परिणाम भएको बताएका छन्। मुख्यमन्त्री कार्कीले भने सार्वजनिक कार्यक्रमहरुमा यो उपचार केन्द्रले प्रदेश मात्र नभएर भारतका बिरामीलाई पनि सेवा दिने भएकाले उपचार केन्द्र राम्रो हुने बताउँदै आएका छन्।

कोशी सरकारको स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका मुख्यमन्त्री कार्कीले अस्पताल सञ्चालनको ठोस कार्ययोजनाबिनै माघ १ गतेदेखि कोटेशनमा काम लगाएर अस्पतालको संरचनाको निर्माण तथा मर्मत सम्पन्न गराएका थिए।

अस्पताल निर्माणका बेला सुरुमा निजी क्षेत्रबाट सहयोग संकलन गर्न अग्रणी भूमिका निर्वाह गरेका उद्योगी एवं संविधान सभा सदस्य पवन सारडाले मुख्यमन्त्री र सरकार फेरिँदैपिच्छे अस्पताल फेर्न  होड चल्नु राम्रो नहुने बताए।

‘कहिले  मुख्यमन्त्री को हुन्छ, को आउँछ को जान्छ हामीलाई चासो भइराख्ने विषय होइन, तर सरकारसँगै मिलेर काम गर्ने संस्थाहरुलाई नै बेवास्ता गर्दै नेतृत्वले आफूखुसी  निर्णय लिनु ठीक होइन’, उनले भने, ‘हामीले सहयोग गरेका र प्रदेश सरकार, विराटनगर महानगरको लगानीमा किनिएका करोडौंका स्वास्थ्य पूर्वाधार र उपकरणहरु गोदाममा थन्क्याएको जानकारी आएको छ। यो आपत्तिजनक छ।’

कोभिड अस्पालत निर्माणका बेलामा सामाजिक विकास मन्त्री रहेका  जीवन घिमिरेले हृदयरोग केन्द्र सञ्चालन हुनु स्वागतयोग्य भएपनि संक्रामक रोग उपचार केन्द्रलाई यथावत् राखेर हृदयरोग केन्द्रलाई अन्यत्र सञ्चालन गर्न सकिएको भए अझै राम्रो हुने बताए। ‍

‘कोभिडजस्तै अन्य संक्रामक रोग भविष्यमा आउँदैन भन्ने छैन। कोभिडकै खतरा पनि टरिसकेको छैन। यस्तोमा संक्रामक रोग अस्पताल सञ्चालनमै राखेर हृदय रोग केन्द्रलाई अन्य ठाउँमा सञ्चालन गर्न सकिएको भए अझै राम्रो हुन्थ्यो,’ उनले भने।

प्रदेश सरकारले कोभिडको समयमा ५२ वटा आइसीयु बेड राखेर तयार पारेको भवनलाई नै शैलजा आचार्य हृदय रोग केन्द्रका रुपमा विकास गरे पनि त्यहाँका आईसीयू र बेडहरु हटाएर गोदाममा थन्क्याएको कर्मचारीहरूले जानकारी दिए।

अघिल्ला सरकारहरूले संक्रामक रोग तथा सघन उपचार केन्द्रका रुपमा अघि बढाए पनि पर्याप्त चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी नहुँदा सरकारको योजनाअनुसार सञ्चालन हुन सकेको थिएन। त्यसयता प्रयोगविहीन बनेका करोडौंका अत्याधुनिक उपकरण अहिले झनै अस्तव्यस्त बनाएर थन्क्याइएका हुन् ।

यसैबीच अस्पताल निर्माणका लागि मुख्यमन्त्री कार्की नै मन्त्री रहेको स्वास्थ्य मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले टेण्डरलाई छलेर सूचिकृत फर्ममार्फत् सिधा खरिदको प्रक्रियाबाट उपकरण र आवश्यक सामग्री खरिद गरेको भन्दै विवाद पनि भएको थियो। आपूर्ति व्यवस्थापन केन्द्र स्रोतका अनुसार तत्काल सामग्रीहरु खरिद गर्नु भन्ने आदेश आएकोले सामान खरिद गरिएको हो।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. वीरेन्द्रकुमार मण्डलले भने बजेटको सुनिश्चितता भएपनि बजेट आइनसकेको बताए। उनले कुन सामान कुन रेटमा खरिद गरिएको हो भन्ने कुरा भने आफूले सबै भन्न नसक्ने बताए।

मुख्यमन्त्री कार्कीले जिम्मेवारी सम्हालेको यो अवधिमा जलन अस्पताल निर्माण गर्ने, बालबालिकाको निशुल्क उपचार गर्ने लगायतका निर्णयहरु गरेका छन्।

यसबाहेक कोशीका आन्दोलनकारीहरूसँग वार्ता गर्न समिति बनाउने कामसमेत गरेका कार्कीले मन्त्री परिषद भने चार जनाको भरमा चलाइरहेका छन्। दलहरूबीच भागबन्डा र राष्ट्रियसभा चुनावको व्यस्तताले मन्त्रिपरिषद विस्तार हुन नसकेको दलका नेताहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस !