१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

१९ वर्षकी गणित शिक्षक, २० वर्षका विज्ञान शिक्षक



पाँचथर — १९ वर्षीया लेकिडोमा तामाङलाई गत वैशाख ९ गते शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुँदै गर्दा एकैपल्टमा पास भइएला र जागिर खाइएला भन्ने लागेकै थिएन । उनलाई नलागेर के भो र, सामान्य ज्ञानसम्बन्धी (पहिलो पत्र) परीक्षामा एकैपल्टमा सफल भइन् ।

भदौ ९ गते विषयगत परीक्षा (दोस्रो पत्र) पास गरिवरी पुस २३ गतेको अन्तर्वार्तामा पनि नाम निस्केपछि त उनी शिक्षक भइहालिन् । उनले सुनाइन्, ‘माघ २ गते नतिजा सार्वजनिक हुँदा १६ औं नम्बरमा नाम निस्केछ, जागिर त खानैपर्ने भयो ।’

शिक्षक सेवा आयोगले कोशी प्रदेशका लागि गणित विषयमा ४७ जनाको दरबन्दी खुलाएको थियो । जसमा ८ सय ५३ जनाले दरखास्त दिएकामा ५ सय ५९ जनाले पहिलो पत्र उत्तीर्ण गरे । तीमध्ये ६४ जना दोस्रो पत्रमा उत्तीर्ण भएर अन्तर्वार्ताका लागि योग्य ठहरिए । लेकिडोमाको नाम भने १६ औं नम्बरमा निस्कियो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमी डाडाँमा २०६१ वैशाख २६ मा जन्मेकी लेकिडोमाले १४ वर्ष पूरा नभइ एसईई दिन नपाइने भएपछि कक्षा ९ को रजिस्ट्रेसन फारम भर्दा उमेर घटाएर २०६० फागुन उल्लेख गरेकी थिइन् । त्यसैले जन्मेको मितिले उनी १९ वर्ष पुग्दै छन् भने नागरिकताका हिसाबले २० वर्ष । यिनै तामाङ हालै शिक्षक सेवा आयोगले सार्वजनिक गरेको निम्न माध्यमिक तह गणित विषयको परीक्षामा नाम निस्केपछि चर्चामा छन् । भनिन्, ‘एकैचोटिमा नाम निस्कन्छ भन्ने नै लागेको थिएन । तर निस्क्यो । आफैं सरप्राइज भएकी छु । ठूलाबडा सबैले बधाई दिँदा काँध पनि गहुँगो भएझैं लागेको छ ।’

२०७४ सालमा सिद्धकाली मावि फेदायपबाट एसईई उत्तीर्ण गरेर २०७६ सालमा फिदिम स्थित कञ्चनजंघा माविबाट गणित विषयमा प्लस टू सकेकी लेकिडोमा अहिले सुकुना बहुमुखी क्याम्पस मोरङमा बीए दोस्रो वर्षमा अध्ययनरत छन् । २०७९ मा उनले शिक्षकको लाइसेन्स परीक्षा पास गरेकी थिइन् । स्थायी शिक्षकमा नाम निस्केपछि उनी अब गृहजिल्लामै आएर सेवा गर्ने तयारीमा जुटेकी छन् ।

लेकिडोमाको परिवारमा उनी पहिलो शिक्षक होइनन् । उनकी आमा वीरमाया सिद्धकाली मावि फेदायपको निमावि तहमा सामाजिक विषय शिक्षण गर्छिन् भने बुबा सन्तवीर सिद्धदेवी मावि नवमीडाँडामा गणित पढाउँछन् ।

लेकिडोमाले स्कुल पढेको सिद्धकाली माविका प्रधानाध्यापक नन्दीकेशर तुम्रोकले उनी सानैदेखि पढाइमा अब्बल भएको र हाजिरी–जवाफ, वक्तृत्वकला र निबन्ध लेखनमा धेरैपटक जिल्ला प्रथम भएको बताए । भने, ‘कक्षा १ देखि ५ कक्षासम्म दोस्रो र ६ देखि १० सम्म पहिलो भएको रेकर्ड नै छ ।’

प्रधानाध्यापक तुम्रोकले कक्षा ९ र १० मा ऐच्छिक गणित विषय पढ्ने उनी एक्लो विद्यार्थी भएको बताउँदै भने, ‘उनको ब्याचमा एक्ली थिइन् र प्रश्नपत्र पनि उनका लागि मात्रै आउँथ्यो ।’

२० वर्षमा विज्ञान शिक्षक

लेकिडोमा भन्दा थोरै जेठो उमेरका संखुवासभा सिलिचोङ गाउँपालिकाका २० वर्षीय रविन राईले विज्ञान विषयतर्फ निम्न माध्यमिक तहमा नाम निकालेका छन् । २०७८ सालमा संखुवासभाको खाँदबारीस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेका रविनले ०७९ सालमा अध्यापन अनुमति पत्रमा नाम निकालेका थिए । लेकिडोमाको जस्तै रविनले पनि पहिलो पटकमै नाम निकालेका हुन् । उनले भने, ‘सबै परीक्षा उत्तीर्ण भएर शिक्षक नियुक्तिका लागि सिफारिस भएको छु ।’

कलिलो उमेरमा शिक्षक सेवा आयोग उत्तीर्ण गरेका रविन र लेकिडोमा दुवै जना देशमै केही गर्न सकिन्छ भन्ने मान्यता राख्छन् । देशमै बसेर धेरै कुरा गर्न सकिन्छ भन्नेमा दुवै जना सहमत छन् ।

Source : Kantipur


प्रतिक्रिया दिनुहोस !