१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बुबाआमाको निधनपछि चार बालबालिकाको बिचल्ली



बलेफी गाउँपालिका–५ गुर्दुम गाउँको टारी जग्गामा माटो ढुङ्गाले बनेको टिनको छानोले छाएको सानो झुपडी घर । उक्त घरको आँगनमा सदा झैँ चार बालकले बुबाआमा बिताएको पीडा र एक वृद्ध हजुरआमा छोरा बुहारीको निधनले स्तब्ध रहिरहन्छन् । बुबाआमाको निधनले शोकाकुल चार नाबालक र छोराबुहारी गुमाएकी आमाको आँखा कहिल्यै ओभानो हुन सकेको छैन । 

बुबा टिकाराम तामाङ नाबालक छोराहरू र वृद्ध आमाको जिउने आधार थिए । तर माघ ४ गते तामाङको क्षयरोगका कारण एक्कासि निधन भएपछि छोराहरू र वृद्ध आमाको बिचल्ली भएको छ । गत साउन ४ गते टिकारामकी श्रीमती लालमाया तामाङको क्यान्सरले मृत्यु भएको थियो । श्रीमतीको मृत्यु पश्चात् टिकारामले चार जना छोराहरूको शिक्षा, दीक्षा र लालनपोषण गर्दे आइरहेका थिए । तर एक्कासि टिकारामको मृत्यु भएपछि चार बालक र वृद्ध आमाको बेहाल भएको छ ।

टिकारामको जेठा छोरा कृष्ण तामाङ स्थानीय जनसेवा आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् । माइलो कृष तामाङ कक्षा ७ मा, ठुलो कान्छो तेजबहादुर कक्षा ५ मा उक्त विद्यालयमा पढ्ने गरेका छन् । कान्छो ४ वर्षीय कृजन तामाङ विद्यालय जाने अवस्थामा छन् । बुबाआमाको मृत्यु भएपछि चारै जना बालक र वृद्ध आमाले दुई छाक खाना समेत दाताको भर पर्नु अवस्था छ । टिकारामको ३६ वर्षे कलिलो उमेरमा र उनीको श्रीमती लालमायाको ३५ वर्षको उमेरमा निधन भएपछि चार छोरा र ८३ वर्षीया वृद्ध आमाको बाँच्ने आधार खोसिएको छ । 

जनसेवा माविका शिक्षक होमबहादुर भुजेलका अनुसार बुबाआमा गुमाएका चार बालक र वृद्धआमालाई दुई छाक समेत टार्न कठिन भएको छ । कोही सहयोगीले खाद्यान्न सहयोग गरे उनीहरूले खाना पाउँछन् । सहयोगी नभए भोकै बस्नु पर्ने अवस्था छ । माघको चिसोमा टिको छानो र सिरक, डस्ना अभावमा कठङग्रिएर बस्नु परेको छ । हजुरआमा आफै थलामा परेका कारण बालकहरूको स्याहारसुसार गर्न सकिएको छैन । बुबाआमाको निधनका कारण बालकहरू नियमित विद्यालय उपस्थित हुन सकेका छैनन् । विद्यालय शैक्षिक सामग्री, पोसाक देखि खाना समेत अभावमा रहेका बालकहरूको अवस्था कन्तबिजोग छ । 

जनसेवा माविका शिक्षकहरूले बालक र वृद्ध आमालाई खाद्यान्न सहयोग गरेका छन् । केही दिन उक्त खाद्यान्नले छाक टारेपनि केही दिनपछि खाद्यान्न अभाव हुने छ । उनीहरूको दैनिकी र अवस्थालाई सुधार गर्न मनकारी सहयोगी आवश्यक भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल लामाले बालक र वृद्ध आमाको लागि स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार, विभिन्न सङ्घसंस्था, निकाय, व्यक्ति सबैसँग सहयोगको उपेक्षा राख्नु भएको छ । 

Source : Gorkhapatra Online


प्रतिक्रिया दिनुहोस !