१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

हिमपातले सुन्दर देखियो खोप्रालेक



म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएको छ । बुधबार साँझ परेको हिमपातले तीन हजार ६६० मिटरको उचाइमा रहेको खोप्राडाँडा सेताम्मे भएको छ । हिमपातका कारण यहाँबाट देखिने धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जालगायतका हिमाल सुन्दर देखिएका छन् । 

बुधबार यो वर्षको पहिलो पटक हिमपात भएको खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमपातका कारण वरपरका हिमाल र डाँडा हिउँले सेताम्मे भएका छन् । हिउँ परेपछि मौसम अत्यधिक चिसो भएको छ ।” खोप्रालेकबाट धवलागिरि, गुर्जा, चुरेन, नीलगिरि, अन्नपूर्णलगायतका हिमाल आँखैअगाडि देख्न सकिन्छ । 

हिमपातका कारण हिमाल सुन्दर देखिन थालेको उहाँले बताउनुभयो । खोप्राका साथै म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल खयरलेक, घोडेपानी, पुनहिल, मोहरेडाँडालगायतका उच्च भू–भागमा हिमपात भएको छ । लामो समयपछिको वर्षासँगै परेको हिमपातले किसान खुसी भएका छन् । साथै गुर्जा, लुलाङ, मल्कबाङ, कुइनेमङ्गले, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिखलगायतका बस्तीमा हिमपात भएको स्थानीयले जानकारी दिएका छन् ।   


प्रतिक्रिया दिनुहोस !