१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

राजमार्गका होटेलले यात्रुलाई खुवाउन्छन सडेको खाना, एक होटललाई जरिवाना



नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट-९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो ।

होटलमा बिक्रीका लागि राखिएको खाद्यसामग्री सडेको अवस्थामा फेला परेपछि कारबाहीस्वरुप होटललाई रु. पाँच हजार जरिवाना गरिएको गैँडाकोट नगरका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिनुभयो । मुनाल होटलले पकाएको चियामा टमाटर भेटिएको, सरसफाइमा ध्यान नदिएको, खानेकुरा राख्दासमेत खाद्य गुणस्तरमा ध्यान नदिइएको तथा उचित व्यवस्थापन नगरेको पाइएपछि कारबाही गरिएको उहाँको भनाइ थियो ।

गैँडाकोटको सडक किनारमा सञ्चालित होटलले अस्वस्थ्यकर खाना खुवाएको जन गुनासो आएपछि गैँडाकोटको कांग्रेसचोक, थुम्सीलगायत क्षेत्रका विभिन्न होटल तथा पसलमा आज अनुगमन गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका अखाद्य सामग्री नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले जानकारी दिनुभयो । 

केही स्थानमा भेटिएका शङ्कास्पद खाद्य पदार्थको गुणस्तर परीक्षण गर्न नमुना सङ्कलन गरिएको भन्दै उहाँले अनुगमनका क्रममा स्थानीय पसललाई मूल्यसूची राख्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न सुझाव दिइएको बताउनुभयो । गैँडाकोटमा सञ्चालित अधिकांश किराना पसल तथा होटलहरुमा चिसो पेय पदार्थको म्याद गुज्रिएको अवस्थाका फेला परेका आचार्यले जानकारी दिनुभयो । 

म्याद गुज्रिएका पेय पदार्थ भेटिएको पसलका सञ्चालकले आफूहरुलाई डिलरले झुक्याएर त्यस्ता सामग्री छाड्ने गरेको गुनासो गरेका थिए । मूल्यसूची तथा परलमा साइन बोर्ड नराखेको, व्यवसाय दर्ता र नवीकरण नभएको, किराना पसलमा खाद्यसामग्री र विषादी एकै स्थानमा राखिएको, सरसरफाइमा कमजोरी भेटिएको पाइएकाले व्यवसायीलाई सचेत गराइएको आचार्यले जानकारी दिनुभयो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कावासोती, गैँडाकोट नगरपालिका उपभोक्ता हित संरक्षण समिति, इलाका प्रहरी कार्यालय गैँडाकोट र गैँडाकोटको नगर प्रहरीले संयुक्तरुपमा बजार अनुगमन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !