१४ फाल्गुन २०८०, सोमबार
 |   Mon Feb 26 2024
Logo

फेरियो निसी गाउँको स्वरूप, बन्यो सुन्दर



छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिरपहरा । बिच भाग हुँदै रुकुम जोडिएको मध्य पहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । ससाना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती । बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ । 

अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकैछिन टक्क रोक्ने गर्छ । गाडीमा यात्रा गर्नेले रोकिएर निसी गाउँको अवलोकन गरेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन् । केही समथर त केही भिरालो भूभागले भरिएको निसी गाउँमा केही धान फल्ने खेत त केही मकै फल्ने बारी छन् । कृषि र पशुपालनमा आश्रित यहाँका स्थानीय पछिल्लो समय व्यापार व्यवसायमा पनि लाग्न थालेका छन् । 

बागलुङको सुदूरपश्चिममा पर्ने निसी गाउँ निसीखोला गाउँपालिका–५ मा पर्छ । एक दशक अगाडिसम्म सेवासुविधाका हिसाबले निकै दुर्गम मानिने यो गाउँ अहिले सुगम बनेको छ । मगर खाम भाषा बोल्ने यहाँका स्थानीयको आफ्नै परम्परा छ । वर्षौंदेखि दुर्गमको पीडा भोगेको निसी क्षेत्रको अहिले भने मुहार फेरिएको छ । विसं २०६४ मा निसी गाउँ मध्य पहाडी लोकमार्गले जोडिए पनि २०६६ सालदेखि गाडी गुड्न थालेका थिए । त्यसभन्दा अगाडि निसीमा कुनै पनि सुविधा थिएन । सबैभन्दा नजिकको बजार बुर्तीबाङ थियो । बुर्तीबाङ आइपुग्न पनि एक दिन पूरै लाग्ने गथ्र्यो । अहिले बुर्तीबाङ आउन गाडीमा ४५ मिनेट लाग्छ ।  सडक यातायातको पहुँचसँगै यहाँको मुहार फेरिन थालेको हो । २०७७ सालमा मध्य पहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ । पहिले साना झुपडी रहेका ठाउँमा अहिले ठुला ठुला पक्की भवनहरू बन्न थालेका छन् भने मौलिक घरहरू विस्थापित हुँदै छन् । गाउँमा आएको परिवर्तनले बुढापाकालाई अचम्मित बनाएको छ । 

दैनिक उपभोग्य सामान ल्याउनका लागि कैयौँ दिन लगाएर बुटवल पुगेकालाई अहिले घरैछेउका पसलमा पाउन थालेपछि दङ्ग छन् । स्थानीय ९० वर्षीया पूरा सुनारले २२ दिन लगाएर बुटवल, देउखुरी र तानसेनबाट नुन, चामल लिएर उपभोग गरेको स्मरण गर्दै अहिले गाउँमै यति धेरै सुविधा आउँछ भनेर कल्पनासमेत नगरेको बताउनुहुन्छ । पहिलो पटक तानसेनमा गाडी देखेको सुनाउने सुनारले अचेल दैनिक घरै अगाडि दजनौँ गाडी गुड्दा खुसी लागेको बताउनुहुन्छ ।

शिक्षा, स्वास्थ्य र अन्य विकासका हिसाबले पनि अहिले निसी गाउँ जोडिरहेको छ । गाउँमै माध्यमिक तहको पढाइ हुन्छ । चार वर्षदेखि यहाँस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पशु विज्ञानको पनि पढाइ हुन थालेको छ । स्वास्थ्यका लागि गाउँपालिकाले गाउँमै सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको छ भने जटिल किसिमको उपचारका लागि बुर्तीबाङ आउनुपर्ने अवस्था छ । सडकको सहज पहुच हुँदा बुर्तीबाङ आउनका लागि समस्या छैन । 

शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले निकै पछाडि रहेको यो गाउँ लोकमार्गले जोडिएपछि थुप्रै सम्भावनाका ढोकाहरू खुलेका छन् । लोकमार्गका छेउछाउमा अहिले थुप्रै भवन धमाधम निर्माण हुँदै छन् भने गाउँको स्वरूप बजारमा परिणत हुँदै छ ।

पहिले अन्धकारमय रहेको गाउँमा अहिले स्थानीय लघु जलविद्युत्मार्फत उज्यालो बनेको छ । कतिपय ठाउँमा घर घरमा धारा बनेका छन् भने कतिपय ठाउँमा बन्ने चरणमा छन् । पहिले दुर्गम हुँदा सरकारी निकायका कर्मचारी यहाँ आउन मान्दैनथे तर अहिले जिल्ला सदरमुकामसँग सिधा यातायात सञ्चालन हुने हुँदा धेरैको रोजाइमा निसी पर्न थालेको छ । सयौँको सङ्ख्यामा भेडाबाख्रा तथा अन्य वस्तुभाउ पालेरै जीविकोपार्जन गर्दै आएकामा अहिले धेरैले व्यापार व्यवसाय गर्न थालेको स्थानीय कर्णसिंह घर्तीमगरले बताउनुभयो । 

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय २० किलोमिटर पश्चिममा रहेको निसी गाउँबाट प्रशासनिक कामका लागि हप्ता दिन लगाएर प्रशासनमा आउनुपर्ने बाध्यता थियो । 

इलाका प्रशासन, नापी र मालपोत कार्यालय बुर्तीबाङमा स्थापना भएपछि निसीबाट प्रशासनिक कामका लागि बागलुङ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । स्थानीय ६२ वर्षीय भुलबहादुर विकले आफूहरू सरकारी कागजात बनाउन पाँच दिन लगाएर जिल्ला सदरमुकाम पुगेको अनुभव सुनाउनुभयो । 

साभार : गोरखापत्र


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय