१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

नेपाली चिकित्सकबाटै पहिलो पटक कलेजो प्रत्यारोपण, भारतभन्दा चार गुणा सस्तो



काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न भएको हो । प्रत्यारोपणका लागि ११ घण्टा समय लागेको थियो ।

‘सबै नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौं । यो नेपालको स्वास्थ्य क्षेत्रकै लागि ठूलो सफलता हो,’ कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारीले भने, ‘बाहिर कसैको भर नगरी हामीले २०७२ सालदेखि नै तयारी थालेका थियौं, जुन आज पूर्ण भयो ।’

अस्पतालमा हुने कलेजोका साथै प्याङ्क्रियाजका जटिल शल्यक्रियामा नेतृत्व गरिरहेका कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारीका अनुसार ४१ वर्षीय पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो प्रदान गरेकी हुन् । अत्यधिक मदिरा सेवन गरेकै कारण नुवाकोट निवासी ती पुरुषको कलेजोमा समस्या आएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको डा. भण्डारीले जानकारी दिए ।

उनले त्रिविमै जनरल सर्जरीमा एमसीएच गरेर कलेजो प्रत्यारोपण तथा प्याङ्क्रियाज शल्यक्रियाका लागि अस्ट्रेलियाको मेलबर्नस्थित रोयल अस्ट्रेलियन कलेज अफ सर्जन्सबाट फेलोसिप प्राप्त गरेका थिए । नेपाल फर्किएसँगै उनले शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा सबै प्रकारका उपचार सेवा रहेकाले पनि प्रत्यारोपण सहज भएको डा. भण्डारी बताउँछन् । ‘शल्यचिकित्सक, एनेस्थेसिया, सघन उपचार विज्ञ, नर्सिङ स्टाफ, इन्टरभेन्सनल रेडियोलोजी, रगत बैंक सबैको समूहगत प्रयास नभएसम्म यति ठूलो शल्यक्रिया गर्न सकिन्न,’ उनले भने, ‘हाम्रो टोलीले सहयोग लिएर १० वटा प्रत्यारोपण गरेको अनुभवले पनि अब आफैं गर्न सकिन्छ भन्नेमा पुगेका हौं ।’ शिक्षण अस्पतालमा नेपाली चिकित्सकबाटै महिनाको एउटा प्रत्यारोपण गर्ने लक्ष्य राखेको उनले बताए । नेपालमा प्रत्यारोपण गर्न २५ देखि ३० लाख रुपैयाँसम्म खर्च हुन्छ । यही शल्यक्रिया भारतमा गर्दा कम्तीमा करोड खर्चिनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !