१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सुनवलमा टिपर र बस ठोक्किँदा १७ जना घाइते, टिपर चालक पक्राउ



नवलपरासी । गएराति पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। बिहीबार राति पौने १० बजे सुनवल नगरपालिका-४ गैरै पेट्रोलपम्प नजिकै काठमाडौँबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु.२ ख १६९६ नम्बरको टिप्पर आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएकामध्ये नवलपरासी देवचुली नगरपालिका-१२ का ३२ वर्षीय प्रकाश न्यौपानेको अवस्था गम्भीर छ। उनलाई राति नै बुटवलमा सामान्य उपचार गरी थप उपचारको रुपन्देहीतर्फ रेफर गरिएको छ।

दुर्घटनाका घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र देवदह मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको डीएसपी खरेलले जानकारी दिए। बसमा सवार ३५ जनामध्ये १७ जना घाइते भएका हुन्। बाँकी यात्रु सकुशल छन्। दुर्घटनापछि टिपर चालक नवलपरासीको सुनवल-१० का २८ वर्षीय सुनिल दर्जीलाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया दिनुहोस !