१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

तीन करोड लिएर ठेकेदार बेपत्ता, अस्पताल निर्माण अलपत्र



अस्पताल निर्माणको जिम्मेवारी लिएर पेस्की रकम लिएका ठेकेदार सम्पर्कविहीन भएपछि अस्पताल निर्माण वर्षौँदेखि अलपत्र परेको छ । सम्बन्धित निकायले ठेकेदारलाई ताकेता नगर्दा उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं २ डाङ्सिनटारस्थित अस्पताल भवनको निर्माण कार्य बिचैमा अलपत्र छ ।

दुर्गम क्षेत्रका करिब १५ हजार मानिसलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले १८ महिना पहिले निर्माण सुरु गरिएको १५ शय्याको भुट्टार अस्पतालको अहिलेसम्म जग अर्थात् फाउन्डेसन निर्माण समेत पूरा हुन सकेको छैन ।

काठमाडौँको आर एन्ड सिएसबेकन ज्वाइन्टभेन्चर निर्माण कम्पनीले २०८१ साल भदौ १५ सम्ममा सम्पूर्ण काम सम्पन्न गर्ने गरी २०७९ साल असार २४ गते सम्झौता गरेर भवन निर्माणको काम सुरु गरेको र सो अनुसार तीन करोड रुपियाँ मोबिलाइजेसन बापत भुक्तानी लगेपछि कम्पनीका ठेकेदार छ महिनादेखि अस्पताल बनाउन फर्केर नआएको रौतामाई गाउँपालिकाका सब–इन्जिनियर दीपेन्द्र श्रीवास्तवले बताउनुभयो । 

स्वास्थ्य सेवा सहज र सरल रूपमा स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नेपाल सरकारको सङ्घीय सरकारबाट बजेट विनियोजन भई आएको र रौतामाई गाउँपालिकाको केन्द्र रहेकै स्थानमा सो अस्पताल निर्माण गर्न सुरु गरिएकोमा थप रकम निकासा नआएको सब इन्जिनियर श्रीवास्तवले बताउनुभयो ।

अस्पतालका लागि आवश्यक पर्ने उपचार कक्षसहितको सुविधासम्पन्न आधुनिक डिजाइनमा तीन तलाको सो अस्पताल भवन बनाउन रौतामाई गाउँपालिकाले १६ करोड १३ लाख रुपियाँको लागतमा सम्पूर्ण काम सम्पन्न गर्ने गरी उक्त निर्माण कम्पनीसँग सम्झौता गरेकोमा अव ७ महिना मात्र समय बाँकी रहेको तर काम भने  पाँच प्रतिशत पनि पूरा नभएकोले निर्धारित समय सीमाभित्र अस्पताल भवन निर्माणको काम सम्पन्न हुन नसक्ने प्रायः निश्चित भएको उहाँले बताउनुभयो  । 

Source : Gorkhapatraonline


प्रतिक्रिया दिनुहोस !