![](https://i0.wp.com/www.supremekhabar.com/wp-content/uploads/2024/02/2580b3d0-c1bf-11ee-9519-97453607d43e.jpg?fit=800%2C450&ssl=1)
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौको उत्तरी क्षेत्रमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना भएको विषयमा थप मानिसहरूमाथि पनि अनुसन्धान हुनसक्ने जनाएको छ।
हालसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानका क्रममा संलग्न देखिएका व्यक्तिहरूलाई तत्काल पक्राउ गरिएको र थप व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको बताएको छ।
“तत्कालीन अवस्थामा जग्गा दिने निर्णय गर्ने बाँसबारी छाला जुत्ता कारखानाका अध्यक्ष र जग्गा लिएका मानिसहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ,” अनुसन्धानको नेतृत्व गरेका सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले भने।
“यो जग्गा लिने/खाने नियतका साथ अनुसन्धानबाट देखियो पुष्टि भयो भने थप मानिसहरू पक्राउ र अनुसन्धानको दायरामा हुनेछन्।”
प्रहरीले पक्राउ गरेकामध्ये एक जना नेपालको ठूलो व्यावसायिक घरानाले सञ्चालन गरेको सीजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी हुन्।
चौधरी समूहले यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन। तर उद्योगी तथा व्यापारीका सङ्गठनका पदाधिकारीहरूले उनी लगायतका व्यक्तिहरूको पक्राउलाई लिएर आपत्ति जनाएका छन्।
शुक्रवार नेपाली कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसद समेत रहेका अरुणका दाइ विनोद चौधरीले आफ्ना भाइलाई पक्राउ गरिएकोबारे ध्यानाकर्षण गराएको बैठकपछि कांग्रेस सांसदहरूले बताएका छन्।
“खासगरेर अरुण चौधरीजीलाई पक्राउ गरेको विषयमा उहाँले संसदीय दलको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले भन्नुभएको कुरालाई नेता र माननीय सदस्यहरूले गम्भीरतापूर्वक सुन्नुभएको छ,” कांग्रेस मुख्य सचेतक रमेश लेखकले बैठकपछि पत्रकारहरूसँग भने।
पक्राउ गरिएका तीनै जनालाई किर्ते र ठगीको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कसरी गुम्यो सरकारी जग्गा?
![](https://i0.wp.com/www.supremekhabar.com/wp-content/uploads/2024/02/3a2399b0-c1bf-11ee-896d-39d9bd3cadbb.jpg?resize=720%2C405&ssl=1)
तत्कालीन श्री ५ को सरकारको नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गा तत्कालीन सरकारले निर्णय गरेर बाँसबारी छाला जुत्ता उद्योगलाई दिएको थियो।
त्यसमध्ये १० रोपनी जग्गा बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष रहेका अजितनारायण सिंह थापा र चौधरी परिवारबीच विसं २०४३ भदौ १३ गते भएको सहमतिबाट चौधरी परिवारको बहुमत शेअर रहेको कम्पनीमा गएको सीआईबीको दाबी छ। थापालाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिहरेको छ।
“यसमा कुनै पनि राजनीतिक तहबाट वा तत्कालीन सरकारको निर्णय भएको छैन। अध्यक्षले सरकारको निर्णय आवश्यकता परेमा गर्ने गरी भनेर दिएको देखिन्छ,” आचार्यले भने।
बाँसबारी जुत्ता उद्योगका तत्कालीन अध्यक्ष थापा र चौधरी परिवारको तर्फबाट पक्राउ परेका अरुण चौधरीका बुवा लुनकरणदास चौधरीबीच सम्झौता भएको र स्पोर्ट्स जुत्ता उत्पादनका लागि कम्पनी स्थापनाको सम्झौता भएको प्रहरीले जनाएको छ।
लुनकरणदास चौधरीको हाल निधन भइसकेको छ भने बाँकी दाजुभाइको नाममा रहेको शेअर पनि पछि अरुणले किनेका थिए।
प्रहरीका अनुसार च्याम्पिअन फुटवेअरमा सुरुमा अहिले सत्ताधारी नेपाली कांग्रेसका सांसदसमेत रहेका नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी र उनका माइला भाइ वसन्त चौधरीको नाममा पनि शेअर थियो।
चौधरी परिवारले प्रतिबद्धताअनुसार लगानी नगरेको दाबी
![](https://i0.wp.com/www.supremekhabar.com/wp-content/uploads/2024/02/42ce3a70-c1bf-11ee-ace0-c35c1b4f6d82.jpg?resize=720%2C405&ssl=1)
थापा र चौधरीबीच च्याम्पिअन फुटवेअर स्थापनाका लागि भएको सम्झौतामा उक्त फुटवेअर उत्पादन गर्ने कम्पनीमा २५ प्रतिशत शेअर बाँसबारी छाला जुत्ता कारखानाको रहने उल्लेख रहेको बताइएको छ।
बाँकी ५१ प्रतिशत शेअर लुनकरणदास चौधरी र उनको परिवारको र २४ प्रतिशत शेअर सर्वसाधारणको रहने सहमति भएको प्रहरीको दाबी छ।
बाँसबारी छाला जुत्ता कारखानाले आफ्नो शेअर बापत पहिलो चरणमा ६ रोपनी र दोस्रो चरणमा थप चार रोपनी गरी जम्मा १० रोपनी जग्गा लगानी गरेको थियो।
उक्त जग्गाको मूल्याङ्कन विसं २०४३ साल कात्तिकमा प्रति रोपनी २ लाख ५० हजार गरिएको थियो।
कम्पनीमा ५१ प्रतिशत शेअर हिस्सा लिएको चौधरी समूहले लगानी गर्नुपर्ने रकम सबै लगानी नगरी ८ करोड मात्रै लगानी गरेको अनुसन्धानको क्रममा देखिएको सीआईबीको दाबी छ।
बाँकी सर्वसाधारणको नाममा गरिने भनिएको लगानी आउँदै नआएको देखिएको सीआईबीको दाबी छ।
“बाँसबारीको छाला जुत्ता कारखानाले जम्मा २६ लाख लगानी गरेको थियो र बाँकी ७४ लाख रुपैयाँ बाँकी पक्षबाट लगानी हुनुपर्नेमा त्यसमध्ये जम्मा ८ लाख मात्र लगानी भएको देखिन्छ,” सीआईबीका आचार्यले भने।
“त्यस कारण त्यहाँ जुत्ता कारखाना स्थापना गरेर सबैले आफ्नो हिस्सा अनुसार शेअर लगानी नगरी बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा र बाँकी ८ रोपनी जग्गा पनि लिने उद्देश्य रहेको देखिन्छ।”
हाल गंगालाल हृदयरोग केन्द्र रहेको बाँकी जग्गा पनि चौधरी परिवारले लिने प्रयास गरेको भए पनि स्थानीयवासीको विरोधपछि उक्त जग्गामा पछि अस्पताल बनेको प्रहरीको दाबी छ।
दुई पटक गरेर १० रोपनी जग्गा बराबरको २५ लाख र च्याम्पिअन फुटवेअरको प्रवर्द्धनका लागि बाँसबारी छाला जुत्ता कारखानाले गरेको थप एक लाख लगानी गरेर जम्मा २५ लाख लगानी भएको अनुसन्धानमा देखिएको प्रहरीको दाबी छ।
चौधरी परिवारको बहुमत शेअर र सरकारी कम्पनीको २५ प्रतिशत शेअर रहेको च्याम्पिअन फुटवेअर स्थापनाको तीन वर्षमै बन्द भएको बताइएको छ।
छत्तीस लाखमा बाँसबारीको १० रोपनी जग्गा
![](https://i0.wp.com/www.supremekhabar.com/wp-content/uploads/2024/02/4bbbd7a0-c1bf-11ee-896d-39d9bd3cadbb.jpg?resize=720%2C405&ssl=1)
सीआईबीका अनुसार चौधरी परिवारले बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा विसं २०५२ साल साउन १२ गते ३६ लाख रुपैयाँ सरकारलाई दिएर आफ्नो नाममा बनाएको थियो।
“जुन २५ प्रतिशत शेयर थियो त्यो महालेखा नियन्त्रकको कार्यालयमा यो र उक्त कार्यालयबाट त्यसको लिलामी निकाल्ने र त्यो लिलामी चार पाँच जना पार्टीको नाममा लिलामी हालेर ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले यो शेअर खरिद गरेको देखिन्छ,” आचार्यले भने।
बाँसबारी छाला जुत्ता कारखानाको शेअर लगानी बापतको ३६ लाख सरकारलाई दिएर उक्त कम्पनी निजी बनाएको र जग्गाको स्वामित्व हत्याएको प्रहरीको दाबी छ।
महालेखा परीक्षकले त्यसबेला नै दिएको प्रतिवेदनमा बाँसबारीको जग्गा अर्को कम्पनीलाई दिने सम्झौता अपारदर्शी भएको र सरकारबाट निर्णय नभएको विषय औँल्याइको प्रहरीको दाबी छ।
“यसमा जुन उद्देश्यले लगानी गरिएको हो त्यसको प्रतिफल पनि प्राप्त नभएको। लगानी गर्छु भनेको भन्दा धेरै लगानी गरेको र अरू साझेदारहरूले गर्छु भनेको लगानी नगरेको भनेर लगातार भनेको देखिन्छ,” महालेखाको प्रतिवेदनबारे आचार्यले भने।
सबै शेअर आफ्नो नाममा ल्याइसकेपछि २०५४ पुस ४ गते च्याम्पिअन फुटवेअरलाई लुनकरणदास चौधरीका कान्छा छोरा अरुण चौधरीले निजी कम्पनीमा परिवर्तन गरेर पुरानै दर्ता नम्बरमा दर्ता गराएका थिए।
“त्यसलाई फेरि नाम परिवर्तन गरेर सीजी चाँदबाग रेजिडेन्सी बनाएको देखिन्छ,” आचार्यले भने।
प्रहरीका अनुसार सीजी चाँदबाग रेजिडेन्सीमा अहिले तीन जना शेअरधनी देखिएका छन्।
जसमध्ये अरुण र महोत्तरीका संजय ठाकुरलाई प्रहरीले पक्राउ गरिसकेको छ।
सीआईबीले अरुण चौधरीकी श्रीमती शीला चौधरीलाई पनि अनुसन्धानको घेरामा राखिएको प्रहरीको भनाइ छ।
साभार : बिबिसि नेपाली सेवा