१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सडक २.८ किलोमिटर, सात वर्षसम्म अधुरै



बाँकेको खजुरा बजारमा सात वर्ष बित्दासमेत १.८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छैन ।  सडक निर्माणको काम ३० महिनामा सम्पन्न गर्ने गरी २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाखमा ठेक्का लिएको थियो । 

निर्माण कम्पनीको बेवास्ता र लापरबाहीका कारण बाँकेको खजुरा गाउँपालिकाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको करिब दुई किलोमिटर फोर लेन सडक निर्माणको काम करिब सात वर्षदेखि अलपत्र परेकाले स्थानीयवासीले ठुलो सास्ती भोग्नु परेको छ । विभिन्न बहानामा पटक पटक म्याद थपिए पनि निमार्णको काम अझै पूरा हुन नसक्नु राज्यकै ठुलो कमजोरी भएको स्थानीय सतीश निरौलाले बताउनुभयो । 

उहाँले स्थानीयले सडक निमार्णको माग गर्दै पटक पटक आन्दोलन गर्दै आए पनि सडक अझै अलपत्र परेको बताउनुभयो । सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर अमिर सुवेदीले निर्माण कम्पनीले पटक पटक काम ढिलो गर्ने, पटक पटक ताकिता गर्दा पनि काम नगर्ने, गुणस्तरीय काम नगर्ने भएपछि कम्पनीलाई कालो सूचीमा राखिएको बताउनुभयो । 

छ वर्ष आठ महिनासम्म गर्न नसेकेको काम अब केही दिनमै पूरा हुने दाबी कम्पनीले गरेको छ । निर्माण कम्पनी गजुरमुखीका निर्देशक सन्तोष गौतमले कालो सूचीमा नराख्न सर्वोच्चले स्टे अर्डर दिएको जनाउँदै आफूहरूले सडक निर्माणको काम गरिरहेको बताउनुभयो । 

उहाँले मौसम सुध्रिनेबित्तिकै डिपिसी गरेर काम सम्पन्न गर्ने बताउनुभएको छ तर निर्माण कम्पनीले यस्ता प्रतिबद्धता कयौँ पटक गरिसके पनि सडकको काम अगाडि बढाएको देखिँदैन । पटक पटकको झुटो आश्वासनले स्थानीय जनता आजित भइसकेका छन् ।   


प्रतिक्रिया दिनुहोस !