१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

यातायात व्यवस्था कार्यालयहरूबाट करिब ७३ हजार नक्कली लाइसेन्स वितरण भएको आशंका



काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका विभिन्न यातायात व्यवस्था कार्यालयहरूबाट करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण भएको आशंका गरेको छ । विभागले गरेको अध्ययन प्रतिवेदनले पूराना ‘कागजी लाइसेन्स’ भनेर हजारौंको संख्यामा नक्कली लाइसेन्स बनेको उल्लेख गरेको छ । लाइसेन्सको विवरण राख्ने पूरानो प्रणालीबाट नयाँमा सारिएको भनेरसमेत कयौं नक्कली लाइसेन्स बनेको निष्कर्ष छानबिन समितिले निकालेको छ । ६ प्रकारका लाइसेन्स नक्कली देखिएको छ ।

कागजी लाइसेन्स भनेर हाल सञ्चालित इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा ‘इन्ट्री’ भएका करिब ५८ हजार लाइसेन्समध्ये निकै धेरै नक्कली हुनसक्ने प्रतिवेदनको निष्कर्ष छ । यसरी ईडीएल प्रणालीमा सबैभन्दा धेरै लाइसेन्स यातायात व्यवस्था कार्यालय कास्की र लुम्बिनीबाट इन्ट्री भएर बायोमेट्रिक लिई वितरण भएको पाइएको छ । कास्कीबाट १५ हजार ५५७ वटा लाइसेन्स कागजी भनेर नयाँ वितरण भएका छन् । यस्तै लुम्बिनीबाट ११ हजार ४७७ लाइसेन्स वितरण भएका छन् । नेपालगञ्जबाट सात हजार ३८६, बाग्लुङबाट चारहजार ७९७ र ललितपुरको एकान्तकुनाबाट तीन हजार ७२५ लाइसेन्स वितरण भएको छ । यस्तै वीरगन्जबाट तीन हजार ६०८, इटहरीबाट दुई हजार ९०९, जनकपुरबाट दुई हजार ३३६ र झापाबाट एक हजार ९७६ लाइसेन्स वितरण भएको छ । दाङबाट एक हजार ५०९, लहानबाट एक हजार ४७२, धनगढीबाट ९३२, दिपायलबाट ३१५ र जुम्लाबाट ३०९ लाइसेन्स वितरण भएको देखिको छ ।

भक्तपुरको राधेराधेबाट आठ, बर्दिबासबाट सात, काठमाडौंको चाबहिलबाट तीन, हेटौंडाबाट तीन लाइसेन्स वितरण भएको छ । अठारवटा लाइसेन्स बिक्री हुनसक्ने स्थितिमा पाइएको छ । कागजी लाइसेन्स भनेर वितरण भएका यी लाइसेन्स सम्बन्धित प्रदेश र त्यसमातहतका कार्यालयले ढड्डा हेरि भेरिफाइ गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।

सुरुवाती समयमा ढड्डामा राखिएका लाइसेन्सको विवरण डीएलआरएसमा राखिन थालेको थियो । डीएलआरएसमा राखिएको विवरण हालको ईडीएल प्रणालीमा राखेर स्मार्ट लाइसेन्स दिइन थालेको थियो । तर, डीएलआरएसबाट ईडीएलमा राखिएका करिब ३० हजार ८ सय लाइसेन्सको आईडी र एप्लिकान्ट आईडी डीएलआरएसमा फेला नपरेपछि धेरै लाइसेन्स नक्कली हुनसक्ने देखिएको छ । ईडीएल प्रणाली निर्माता कम्पनी मद्रास सेक्युरेटी प्रेसलेसमेत डीएलआरएसबाट सारिएको भए लाइसेन्स आईडी र एप्लिकान्ट आईडी उस्तै हुनुपर्ने बताएको छ । त्यसैकारण यसरी वितरण भएका करिब १५ हजार लाइसेन्स नक्कली ठानिएको छ ।

यसरी सबैभन्दा धेरै तीन हजार ५१८ लाइसेन्स वीरगन्जबाट वितरण भएको छ । लुम्बिनीबाट तीन हजार १८७, कोसीबाट एक हजार ९४८ र कास्कीबाट एक हजार ३२३ लाइसेन्स वितरण भएका छन् । यस्तै विर्तामोडबाट ९५५, जनकपुरबाट ९५५, लाहानबाट ७८३, राप्तीबाट ३५१ र ललितपुरबाट २९५ लाइसेन्स वितरण भएका छन् । यस्तै सेतीबाट २८०, भेरीबाट १९४, ठूलो भर्‍याङबाट २, महाकालीबाट ६९, जुम्लाबाट ४६ र जगातीबाट २ लाइसेन्स वितरण भएका छन् । हेटौंडाबाट ७, धौलागिरीबाट ५४, चाबहिलबाट ३९, बर्दिबासबाट २ र इलाम, गाइघाट, डोटीबाट एक एक वटा लाइसेन्स वितरण भएका छन् ।


प्रतिक्रिया दिनुहोस !