१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मध्य प्रदेशको पटाका कारखानामा आगलागी हुँदा ११ जनाको मृत्यु, १७४ जना घाइते



एजेन्सी । मध्यप्रदेशको राजधानी भोपालबाट १५० किलोमिटरको दूरीमा रहेको हरदा सहरमा मंगलबार बिहान १० बजे भीषण आगलागी भएको छ । सो क्षेत्रमा रहेको पटाखा कारखानामा आगलागी र त्यसपछि भएको विस्फोटका कारण पाँच किलोमिटर क्षेत्रका घरका झ्यालका सिसा फुटेर खस्न थालेका छन् । पहिले कारखानामा आगो लागेको र त्यसपछि त्यहाँ रहेको बारूदको स्टक विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि एकपछि अर्को धेरै विष्फोट भए र पुरै क्षेत्र मानिसको चित्कारले डुबेको थियो । करिब २५–३० किलोमिटरसम्म विस्फोटको आवाज सुनिएको थियो । प्रत्यक्षदर्शीका अनुसार मानिसको शरीरका अंगहरु सडकमा छरिएका थिए र कारखाना वरिपरि पार्क गरिएका सवारीसाधनहरु फुटेका थिए ।

पटाका कारखानाका मालिक राजेश अग्रवाललाई रायगढको सारणपुरबाट पक्राउ गरिएको छ । उद्योगमा बारूदको ठूलो भण्डार रहेको अग्रवालले प्रहरीलाई बताए । विष्फोट यति भीषण थियो कि पूरै क्षेत्रमा टाढा टाढासम्म घरहरु ध्वस्त भएका छन् । स्थिति यति गम्भीर छ कि राज्य सरकारले घटनास्थलबाट मानिसहरूलाई बाहिर निकाल्न सेनालाई हेलिकप्टर उपलब्ध गराउन भनेको छ। आगलागीको कारण भने थाहा हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !