१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सरकारी जग्गा हडप्ने, सहकारी ठग्ने र किर्ते नागरिता बनाउनेलाई दण्डित गर्नुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने र सहकारीमार्फत ठगीमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले गलत गर्नेहरु जो सुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताएका हुन् ।

‘जो सुकै होस्, जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस् नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्दैन रु दण्ड पाउनु पर्दैन ?’ कांग्रेस महामन्त्री थापाको प्रश्न गरे ।

नागरिकता किर्ते लगायतका विषयमा पनि शक्तिको दुरुपयोग हुन नहुने उनको भनाइ छ । थापाले प्रश्न गरे, ‘जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस् हातमा ताकत होस्, कलम होस्, नागरिकता बनाउनलाई किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारणले गर्दा किर्ते गरेपनि उसको किर्ते माफी हुन्छ । यसरी चल्छ ?’ सहकारी ठगी प्रकरणमा पनि सरकारले गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।

सुशासन कायम गर्न सरकारले गलत काम गर्नेको शक्ति र पदीय हैसिय हेर्न नहुने थापाले बताए । ‘चाहे जग्गा मिच्ने होस्, जग्गा हडप्ने होस्, चाहे नागरिकताको किर्ते गर्ने होस्, चाहे सहकारीमा ठग्ने होस् । यताको होस् कि उताको होस् जुनसुकै दलको होस् वा दल भन्दा बाहिरको होस्, जतिसुकै सक्तिशाली होस् कसैले पनि उन्मुक्ति पाउनुहुन्न’ उनले भने ।

सर्वसाधारण नागरिकले दण्ड पाउने हरेक अपराधमा शक्तिशालीहरुले पनि दण्ड भोग्नुपर्ने बताए । ‘‘नेपाल सरकारले यो बाटो समात्दै गयो भने बल्ल एउटा विश्वासको वातावरण बनाउन सक्छ’, महामन्त्री थापा थप्छन्, ‘राज्य भएको भरोसा दिलाउने, सुशासन सँगै राज्यको उपस्थिति दिलाउन विशिष्ठ प्रकरणहरुका सम्बन्धमा मेरो राज्यले, मेरो सरकारले के गरिरहेको छ भनेर नागरिक हेरिरहेको हुन्छ ।’

सुशासनको विषय बोलीमा नभइ व्यवहारमा देखिनुपर्ने र सुशासनका लागि काम भएको जनताले महसुस गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारले सुशासनको सन्दर्भमा मैले काम गरेँ भनेर हुँदैन । सरकारले गरेको कामहरु नागरिकले महसुस गर्न पाउनुपर्छ । नागरिकले नजिकबाट नियालेर त्यो कुरा हेरेका हुन्छन्’, महामन्त्री थापाले भने ।

सरकार पूर्वाग्रही भएर प्रस्तुत हुन नहुने र सरकारको असल काममा संसदले सहयोग गनुपर्ने पनि थापाले बताए । ‘सरकारले गरेको काममा कुनै पूर्वाग्रह नहोस् । सँगसगै सरकारले सुशासनका निम्ति गरेका पहलहरु कतैबाट प्रभावित नहोस् ।’

सरकारले लोकरिझ्याइँका लागि प्रहरी प्रशासन र सरकारी निकायहरुको दुरुपयोग गर्न नहुने पनि उनको भनाइ छ । ‘कुनै स्टन्टबाजीका निम्ति, कुनै पत्रपत्रिकाको हेडलाइनमा आउनका निम्ति कुनै पनि निर्णय नगरोस् भन्ने स्वभाविक रुपमा अपेक्षा रहन्छ । त्यसो गर्दै गर्दा सरकारलाई संसदको पूर्ण रुपमा साथ सहयोग रहनुपर्छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !