१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

पोखरामा ५ करोड फिरौती माग्दै धम्क्याउने २ जना पक्राउ



पोखरा । पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालकिा घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् ।

बुधबार साँझ पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । उनीहरुले पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत धम्क्याएको आरोप छ । गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् । उनी उक्त केन्द्रको केन्द्रीय अध्यक्षसमेत हुन् ।

पक्राउ परेका २ जनाले फोन तथा म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सच्चाई सेवा केन्द्र चलाइरहेका प्रकाश गैरेले केन्द्रको गतिविधि सामाजिक सञ्जाल युट्युबमा राख्दै आएका थिए । पक्राउ परेका मुख्य आरोपी लक्ष्मण दर्जीले त्यही युट्युबमार्फत नै गैरेबारे जानकारी लिएको प्रारम्भिक बयानका क्रममा बताएका छन् ।

‘८ वटा पान्नामा विभिन्न नेता, व्यापारी, उद्योगी, व्यवसायीलगायत ठूलाठूला मान्छेको नाम लेखिएका छन् । कोहीकोहीका त सन्तानको पनि नाम लेखिएका छन्’, एसपी थापाले भने । युट्युबबाट गैरेबारे जानकारी लिइसकेपछि उनी पैसा दिन सक्ने व्यक्ति भएको अनुमान गरी दर्जी माघ १३ गते सच्चाई केन्द्र गएका थिए । ‘त्यहाँ १–२ घन्टा बसेर बसेर गैरेको टेलिफोन नम्बर लिएर आएको देखिन्छ’, एसपी थापाले भने ।

गैरेको नम्बर पत्ता लगाइसकेपछि उनीहरुले माघ ११ गते पहिलो पटक हिन्दी भाषामा धम्कीपूर्ण म्यासेज पठाएका थिए । म्यासेजमा उनीहरुले आइतबारसम्म ५ करोड रुपैयाँ व्यवस्था गर्न र उक्त पैसा दिने ठाउँ र समय आफूहरुले तोक्ने उल्लेख गरेका थिए ।

पहिलो पटक धम्की दिइसकेपछि माघ २० फेरि उनीहरु दीपस्थित सच्चाई सेवा केन्द्रमा पुगे । ‘आफूहरुले धम्की दिइसकेपछि त्यसको असर कत्तिको परेको छ भनेर बुझ्न फेरि सच्चाई सेवा केन्द्रमा गएको देखिन्छ’, एसपी थापाले भने, ‘२३ गते पनि उनीहरु सच्चाई केन्द्रमा गएर आधा घन्टा बसेका छन् ।’

त्यही क्रममा २४ गते भने उनीहरु पक्राउ परे । ‘हामीलाई फिरौती माग्दै ज्यान मार्ने धम्की दिएको सूचना आएपछि नै एकहप्तादेखि पिछा गरिहेका थियौं’, एसपी थापाले भने ।

लिस्टमा शीर्ष नेतासहित ३५ जनाको नाम

प्रहरीले उनीहरुको साथबाट लागूऔषध गाँजा, धम्क्याउन प्रयोग गरिएको सिमकार्ड, मोबाइल सेट, किताब, हातहतियार तथा विभिन्न व्यक्तिको नाम लेखिएको ८ वटा शंकास्पद पान्ना पनि फेला परेको छ ।

प्रहरीका अनुसार उनीहरुबाट बरामद भएको पान्नामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवासहित ३५ जनाभन्दा बढी नेता, व्यवसायी तथा उद्योगीको नाम छ ।


प्रतिक्रिया दिनुहोस !