१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोसीमा एमालेलाई धक्का, पहिचान पक्षधर र सरकारबीच ५ बुँदे सहमति



विराटनगर । कोसी प्रदेश सरकार र एक वर्षदेखि आन्दोलित पहिचान पक्षधरबीच शुक्रबार ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। बिहीबारदेखि जारी वार्तामा कोसीका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले पहिचान पक्षधरसँग ५ बुँदे सहमति गरेको हो।

सहमतिअनुसार प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत् रुपमा प्रदेशको नाम फेर्नका लागि राजनीतिक वातावरण वनाउन संयुक्त रूपमा पहल गर्ने सहमति गरेका छन्। सहमतिअनुसार अब पहिचान पक्षधरले अन्य दल र समूहका गतिविधिमा निषेध गर्ने गरी जारी आन्दोलनलाई सुधारेर अब शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन्। पहिचान पक्षधरसँगको सहमतिमा कोसी सरकारले एक वर्षयताको आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क उपचार गरिदिने भएको छ।

त्यस्तै आन्दोलनकारीमाथिका मुद्दा प्रदेश सरकारले फिर्ता लिने भएको छ। सहमतिमा फागुन १० पहिले नै दुवै पक्षको सहमतिमा फेरि वार्ताको मिति तोक्ने सहमति पनि भएको सरकारतर्फबाट वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए।

यो वार्ता सफल भएपछि अब प्रदेशमा शान्तिपूर्ण वातावरण बनेकोको मुख्यमन्त्री केदार कार्कीले बताए। उनले अब प्रदेशमा विकास र समृद्धिले तीव्रता पाउने बताएका छन्। यो अघि एमाले नेतृत्वको सरकारले नाम फेर्ने विषयमा अटेरी गर्दै आएको थियोे । विषेश गरि एमाले अध्यक्ष केपी ओलीको हठले गर्दा नाम परिवर्तन हुन सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस !