१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

माओवादी बैठकमा नेताहरूको रिपोर्टः रूपान्तरण अभियान चलाए पनि पार्टी रूपान्तरण हुन सकेन



काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले विशेष रूपान्तरण अभियान चलाए पनि रूपान्तरण भने हुन नसकेको निष्कर्ष निकालेका छन्। आइतबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्ने नेताहरूले अभियान अपेक्षाकृत हुन नसकेको रिपोर्ट पेश गरेका छन्। कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले प्रदेश १ मा माओवादीको आकार झन् खुम्चिएको बताए। उनले ९९ हजार पार्टी सदस्यमा ३६ हजारले मात्रै सदस्यता नवीकरण गरेको बताए । नेम्वाङले गुटबन्दीको समस्या उस्तै रहेको र तल्ला कमिटीहरूमा तलकै गुट रहेको बताए। उनले पार्टीलाई बलियो बनाउन नेतृत्व छनोटमा निर्वाचन आवश्यक रहेको बताएका छन्।

बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा चारथरिका नेताहरूको पहिचान गरिएको बताए। शर्माले भने, ‘अभियानबाट केन्द्रीय सदस्यहरूको मूल्यांकनको आधार दिएको छ, विगतका पार्टी सदस्य नक्कली भएको पत्ता लागेको छ र उपत्यकामा पार्टी निर्माणबारे अनुसन्धान भइरहेको छ। उनले माओवादीको नारा अन्य पार्टीहरूको नारा भन्दा फरक नभएको कार्यकर्ताको मूल्यांकन रहेको रिपोर्ट पनि केन्द्रीय समिति बैठकमा पेश गरेका छन्। ‘अन्य पार्टी भन्दा फरक नारा नभएको, ठूला व्यापारीसँग जोडिएको, सरकारका काम अझ प्रभावकारी नभएको, जनवर्गीय संगठनहरूले जनताका मुद्दा नउठाएको, जीवन शैली बदलिएकोजस्ता कुरा आएका छन् शर्माले भने ।

त्यस्तै बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले पनि प्रदेशमा पार्टी सदस्यहरू घटेको रिपोर्ट पेश गरेका छन्। उनको रिपोर्ट अनुसार १ लाख ४७ हजार पुराना सदस्यहरू भएकोमा अहिले त्यो संख्या घटेर १ लाख २० हजार पाँच सय पुगेको छ। पार्टीमा भक्तिमार्ग हावी भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका छन्। विशेष प्रदेश इन्चार्ज वर्षमान पुनले आफ्नो रिपोर्ट पनि जनार्दन शर्माको जस्तै भएको बताएका थिए।

त्यस्तै प्रवास इन्चार्ज राम कार्कीले डर र लोभका बीचमा बसेर मात्र काम गर्ने संस्कृति हावी भएका कारण ठाउँमा प्रवासिएका नेपालीहरूबीच काम गर्न चुनौतिपूर्ण रहेको बताए। भने प्रवास अध्यक्ष ओम शर्माले अहिलेसम्म प्रवासबाट पार्टीमा कति पैसा आयो त्यसको खोजविन हुनुपर्ने बताए। गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले अभियानले पार्टी पंक्ति रक्षा गरेको बताए । गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङले आफ्नो प्रदेशमा ५० प्रतिशत पुराना सदस्यको नवीकरण भएको र ८ हजार नयाँ सदस्यता वितरण भएको बताएकी छन्। लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले आफ्नो प्रदेशमा ४० जना प्रदेश सदस्य निष्क्रिय रहेको र ७७ आंशिक खटेको बताए। कर्णाली प्रदेश इन्चार्ज मातृका यादवले कर्णालीमा धम्की र घुर्की देखाउने नराम्रो संस्कार बसेको उल्लेख गरे। सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरीले प्रदेश संसदीय दलमा दल नेतासँग असन्तुष्ट भएर दल नेता नै परिवर्तन गरिएको भन्दै अब कसरी अघि बढ्ने हो भनेर प्रश्न सोधेका थिए।


प्रतिक्रिया दिनुहोस !