१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सोमबारदेखि फेरि वर्षा, पश्चिमी भू-भाग बढी वर्षा हुने



काठमाडौं । सोमबारदेखि नेपालका धेरै स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज आइतबार विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ । शनिबारदेखि मात्र मौसम सुधार हुँदै जाने छ । यो प्रणाली गत माघ तेस्रो साताको प्रणालीभन्दा शक्तिशाली छ । त्यसैले त्यतिबेलाको भन्दा यसपटक अलि बढी बादल र वर्षा हुने प्रक्षेपण छ । पश्चिमी वायु नेपाल छिरिसकेकाले अधिकांश स्थानमा आज (आइतबार) अपराह्नदेखि नै बादल लागिसकेको छ । तर वर्षा भोलि (सोमबार) देखि सुरु हुने सम्भावना छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल भन्छन्, ‘अब लगातार तीन दिनसम्म घाम नलाग्ने नै देखिन्छ ।’

उनका अनुसार भोलिदेखि पश्चिमी भूभाग, विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका माथिल्लो भेगमा राम्रै वर्षा हुने सम्भावना छ । मंगलबार यसको असर अझै बढी देखिने छ । त्यसैले सुदूरपश्चिम र कर्णाली प्रदेशभर मंगलबार पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ । बुधबारदेखि पानी पर्ने क्रम कम हुँदै जाने छ । तर बादल भने डम्मै लाग्ने सम्भावना छ ।

सोमबार नै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी वायुको अहिलेको प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जानेछ । त्यसक्रममा मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बिहीबार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस !