१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा २ को मृत्यु, चालकसहित ४ जना घाइते 



जिल्लाको बाह्रबिसे नगरपालिका-७ घुम्थाङबाट बाह्रबिसे जाँदै गरेको जिप बुधबार सखुवापारि अँधेरी खोलामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । चालकसहित चार जना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीकाअनुसार बा १२ च ४९९१ नम्बरको जिप खोलामा खस्दा घुम्थाङवासी ४० वर्षीया दिलकुमारी प्रधान र ४२ वर्षीया लालकुमारी प्रधानको ज्यान गएको हो । ‘गम्भीर तीन घाइतेलाई बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रबाट राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको छ, घाइते सबै यहाँकै वडावासी हुन्,’ जोशीले भने ।

घाइतेमध्ये धेरै जसोको टाउको, हातपाउमा चोट लागेको छ ।

जिप करिब दुई सय मिटर तल खोलामा खसेर ध्वस्त भएको थियो । जिप दुर्घटनालगत्तै स्थानीयले सुरक्षाकर्मी र जनप्रतिनिधिलाई खबर गरेका थिए । तत्कालै घटनास्थलमा पुगेर सुरक्षाकर्मी र स्थानीयले घाइतेलाई उद्धारार्थ एम्बुलेन्सलाई खबर गरिएको थियो । ‘समयमै पुगेर उद्धार गर्न सकियो र घाइतेलाई अस्पताल लैजान सकियो, खोचमा सवारी पुगेकाले उद्धारमा कठिनाई भयो,’ स्थानीय सन्देश तामाङले भने ।

घाइते चालक विक्रम थापा उपचारपछि डिस्चार्ज भइसकेका छन् । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको इन्सपेक्टर जोशीले बताए । उनले जिप दुर्घटनाबारे अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !