१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कालापानी जाने बाटोको ट्रयाक खुल्यो



दार्चुला । नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरू जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ ।

गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने काम सकेको हो ।

कडा चट्टानी भूगोल, भारतीय अवरोध, प्रतिकूल मौसम र निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरेको बाटो निर्माणको काम चार महिनामा सकिएको हो । चट्टानी भीर फुटाएर खुलाइएको ट्र्याकमा सफाइको कामसमेत सकिएको नेपाली सेना दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रमदेव थापाले जानकारी दिनुभयो ।

यो बाटो खुलेसँगै व्यासवासीलाई नेपालकै बाटो भएर गाउँसम्म आवतजावत गर्न सहज भएको छ । व्यासको छाङरू र तिङ्कर गाउँमा बसोबास गरेका झन्डै दुई सय परिवारलाई दार्चुला सदरमुकाम कुन्चा सर्न सहज हुने सेनाले जनाएको छ ।

व्यासी हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलङ्गा बस्ने गर्छन् । खलङ्गाको गर्मी छल्न गाउँ उक्लिएका व्यासी चिसो बढेपछि पुनः मङ्सिर पहिलो साता खलङ्गा झर्ने गर्छन् ।

विगतमा नेपालतर्फ बाटो नहँुदा व्यासी भारतीय बाटो प्रयोग गरेर गाउँ जाने गरेका थिए । यो वर्ष सीमा विवाद, लकडाउन र सीमा नाका बन्द भएकाले व्यासीलाई गाउँ फर्किन समस्या थियो । घोरेटो बाटो निर्माण भएसँगै व्यास पुग्न नेपाल र भारत दुवैतर्फको प्रशासनको अनुमति लिनुपर्ने बाध्यता अन्त्य हुने व्यास गाउँपालिका–१ का स्थानीयवासी नगेन्द्र तिङ्करीले जानकारी दिनुभयो । चट्टानी भूगोलले काममा केही ढिलाइ भए पनि स्थानीयवासीका लागि सहज रूपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको तिङ्करीले बताउनुभयो ।

घाँटीबगरमा सेनाले बाटो निर्माण सम्पन्न गरे पनि तम्बाकु भीर क्षेत्रमा जोखिम कायमै रहेको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिनुभयो । घाँटीबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ । त्यो क्षेत्रमा पनि आवतजावत गर्न निकै जोखिम छ, वडाध्यक्ष बोहराले भन्नुभयो, तम्बाकु भीरमा व्यास गाउँपालिकाको बजेटमार्फत बाटो खुलाउने काम भए पनि कडा चट्टान भएकाले खुल्न कठिन छ । यो क्षेत्रमा अहिले पनि ज्यानको बाजी लगाएर तारको सहारामा चट्टानी भूभागमार्फत नदी पार गर्नुपर्ने बाध्यता छ । तम्बाकु नजिकको क्षेत्रमा बाटो निर्माण नगरेरै कुन्चा सर्न सकिने सम्भावना नरहेको व्यासकी स्थानीय बासिन्दा पार्वती तिङ्करीले बताउनुभयो ।

सरकारले दार्चुला तिङ्कर सडक अन्तर्गत व्यास गाउँपालिका–२, कोठेधारदेखि तिङ्करसम्मको ८७ किलोमिटर क्षेत्रमा सडक निर्माणको जिम्मा पनि नेपाली सेनालाई दिएको छ । घोडेटो बाटो खुलाएको सेनाले केही दिनपछि तिङ्कर सडक निर्माणको काम थाल्नेगरी तयारी भइरहेको गुल्मपति थापाले बताउनुभयो । सडक निर्माण गर्न टेन्डर र परामर्शदातामार्फत विस्तृत आयोजना अध्ययन प्रतिवेदन निर्माणको काम भइरहेको छ । दुई ठाउँमा क्याम्प राखेर सडक निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय