सेवाग्राहीको सेवाका लागि सरकारी सेवामा प्रवेश गरेका कतिपय निजामती कर्मचारी कार्यकक्षमै परीक्षाको तयारी गरेर बस्ने गरेका छन् । सरकारी सेवामा प्रवेश गरेपछि कतिपय कर्मचारीले आफ्नै वृत्ति विकास र सेवा सुविधाका लागि मात्रै समय खर्चिने गरेको पाइन्छ ।
यी कर्मचारीहरु सेवामा प्रवेश गरे देखि नै फेरि अर्को परीक्षाको तयारीमा जुट्ने गर्ने गरेका छन। एकचोटि स्थायी सेवामा प्रवेश गरिसकेपछि जागिरबाट कसैले हटाउन नसक्ने कानूनी प्रावधानमा टेकेर सेवाग्राहीहरुको सेवामा लाग्ने समयमा पनि आफ्नो वृत्तिविकास र अवसरमा मात्रै कुदेको देखिन्छ।
परीक्षा तयारी गर्नकै लागि सेवाग्राहीको चाप कम हुने हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, वन तथा वातावरण मन्त्रालय, विभिन्न आयोगलगायतका कार्यालयमा सरुवा हुनका लागि भनसुनसमेत गर्ने गरेका छन् । लोक सेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कतिपय कर्मचारी बिदामा बसेर परीक्षाको तयारी गर्छन् भने कतिपय कर्मचारी कार्यकक्षमा नै बसेर परीक्षाको तयारी गर्ने गरेका कर्मचारी नै स्विकार्छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले कतिपय सङ्घीय कार्यालयमा कार्यरत कर्मचारी परीक्षाको तयारीका लागि कार्यकक्षमै बसेर परीक्षाको तयारी गर्ने गरेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “केही कार्यालयमा कतिपय कर्मचारी कार्यकक्षमै अध्ययन गरेर बसेको पाइन्छ तर हामीले परीक्षाको तयारी गरेर बस्नुपर्दा बिदा लिएर बस्नु भनेका छौँ । सेवाग्राहीको कामलाई बाधा पारेर कुनै पनि कर्मचारीले आफ्नो वृत्ति विकासका लागि मात्र समय दिनु हुँदैन ।”
उहाँका अनुसार सङ्घीय निजामती सेवा ऐनको अभावमा अहिले १७ वर्षसम्म पनि कतिपय कर्मचारीको बढुवा नहुँदा त्यसको असर परीक्षाको तयारी गर्ने क्रममा सेवाग्राहीसम्मलाई पर्न गएको हो । कम्तीमा छदेखि सात वर्षमा एक तह बढुवा हुने स्थिति भयो भने कर्मचारी परीक्षाकै लागि कार्यालयमा नै बसेर वा बिदामा बसेर पढ्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ ।
कारागार कार्यालय सुन्धारामा कार्यरत उपसचिव ललित बस्नेतले निजामती कर्मचारी माथिल्लो पदमा जानका लागि कतिपय कार्यालयमै बसेर पढ्ने प्रवृत्ति अहिले पनि कायम रहेको बताउनुभयो । उहाँले सरकारले कानुन निर्माण गरेर बहालवाला कर्मचारीलाई माथिल्लो पदमा जानका लागि आन्तरिक प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था भयो भने बल्ल कर्मचारीले पढेरै मात्र बस्ने प्रवृत्तिको अन्त्य हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सेवाग्राही र सरकारको काममा बाधा पु¥याएरै त कुनै पनि कर्मचारीले कार्यालयमै वा कार्यालयबाहिर बसेर पढेका छैनन् तर माथिल्लो पदमा जानका लागि भने कर्मचारीले काममा बाधा नपारी कार्यालयमा बसेर पढ्ने गरेका छन् ।”
बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले निजामती सेवा ऐनकै कमजोरीका कारण कर्मचारीमा स्वअध्ययन गर्ने प्रवृत्ति बढ्दै गएकाले ऐनमा नै सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “शैक्षिक योग्यता भएका कर्मचारीले पनि खरिदार, नासु वा शाखा अधिकृत पदबाट सेवा प्रवेश गरेपछि उपसचिव वा सहसचिव पदमा र अन्तरसेवा खुला प्रतिस्पर्धाबाट जान पाउने व्यवस्थाको अन्त्य हुँदा मात्र कर्मचारीले पढेर बस्ने अवस्थाको अन्त्य हुन्छ । अन्यथा कर्मचारीले जुनसुकै समयमा स्वअध्ययन गर्ने प्रवृत्ति कायम रहन्छ ।”
संसद्, प्रशासन, न्याय, वनलगायतका कतिपय सेवामा खुला प्रतिस्पर्धाबाट बहालवाला कर्मचारीले नै माथिल्लो पदमा नाम निकाल्दा तल्लो तहमा छिट्टै नै पद रिक्त हुने गरेको उहाँले बताउनुभयो । रिक्त पदमा पूर्ति गर्नका लागि पुनः लोक सेवाको प्रक्रियामा जाँदा करिब एक वर्ष नै समय लाग्ने गरेको छ ।
लोक सेवा आयोगले हरेक वर्ष खुला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरेको छ । राजपत्राङ्कित प्रथम श्रेणीको असोज अन्तिम साता विज्ञापन प्रकाशित भई सिफारिस हुँदा अर्को वर्षको वैशाखसम्म लाग्ने गरेको आयोगले जनाएको छ । त्यस्तै राजपत्र अनङ्कित पदको माघको अन्तिम साता विज्ञापन भई सिफारिस हुँदा साउन÷भदौसम्म पुग्ने आयोगले सार्वजनिक गरेको वार्षिक परीक्षाको कार्यतालिकामा उल्लेखमा गरिएको छ । आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले कुन कर्मचारीलाई कहिले बिदा बस्न दिने भन्ने विषय सम्बन्धित कार्यालयको भएकाले लोक सेवा आयोगसँग कर्मचारीको परीक्षाको तयारी र बिदाको विषय नजोडिने स्पष्ट पार्नुभयो ।
तयारीमा छ महिना
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हरेक वर्ष लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार निजामती कर्मचारीले परीक्षाको नाममा वार्षिक रूपमा करिब छ महिना जति परीक्षा तयारीका लागि मात्र समय खर्चिने गरेको जनाएको छ ।
लोक सेवाको कार्यतालिका अनुसार पनि एउटा तहको परीक्षाको विज्ञापन भएदेखि परीक्षा नसकिएसम्म छिटो हुँदा पनि करिब एक वर्ष लाग्छ । परीक्षा आउनुभन्दा छ महिनाअघिदेखि नै कर्मचारी कार्यालयमा एक दुई घण्टा काम गरेर विभिन्न बहानामा परीक्षाको तयारीका लागि हिँड्ने गरेका कर्मचारीमाथि आरोप लाग्दै आएको छ । नायब सुब्बाको परीक्षा समयमा खरिदार अनुपस्थिति, शाखा अधिकृतका लागि सुब्बा अनुपस्थिति, उपसचिवको परीक्षा हुँदा शाखा अधिकृत अनुपस्थिति र सहसचिवको परीक्षा हुँदा उपसचिव अनुपस्थिति हुने गरेका छन् ।
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले कार्यालयमा नै बसेर कर्मचारीले अध्ययन नगरेको दाबी गर्नुभयो । कुनै कर्मचारीले कुनै विषयमा पुस्तक पल्टाएर टेबुलमा राखेको हुन सक्छ तर पूरै समय परीक्षाको तयारी गरेर कार्यालयमा बस्ने नगरेको उहाँले दाबी गर्नुभयो ।
फितलो अनुगमन
राष्ट्रिय सतर्कता केन्द्रले समय समयमा कर्मचारीको छड्के चेकजाँच गर्ने गरिए पनि कुन कर्मचारी के कामका लागि कार्यालयमा अनुपस्थिति भएका छन् भन्नेबारेमा भने विस्तृत रूपमा अनुगमन गर्ने गरेको पाइँदैन । मन्त्रालय, विभाग तथा अन्य सरकारी कार्यालयका प्रमुखले पनि मातहतका कर्मचारी कार्यालयमा बसेर काम गरे नगरेको बारे जति रूपमा चासो राख्नुपर्ने हो त्यति चासो राखेको पाइँदैन ।
सतर्कता केन्द्रका प्रवक्ता कृष्णप्रसाद पन्थले आफूहरूले समय समयमा विभिन्न कार्यालयमा अनुगमन गर्दा परीक्षाको तयारी नै गरेर बसेका कर्मचारी नभेट्टाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा सतर्कता केन्द्रले अनुगमन गर्दा कर्मचारीले परीक्षाको तयारीका लागि कार्यकक्षमा नै अध्ययन गरिरहेका वा बिदामा बसेका भन्ने विषयमा अनुगमन गर्छौं ।”
साभार : गोरखापत्र अनलाइन