१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

धनगढीले उपमहानगरपालिकाले जडान गर्‍यो रात्रीकालीन सौन्दर्यकरणका लागि ‘स्ट्रिप रोपलाइट’



सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ‘स्ट्रिप रोपलाइट’ जडान गरिएको छ । रात्रीकालीन सौन्दर्यकरणका लागि धनगढी उपमहानगरपालिकाले ‘स्ट्रिप रोपलाइट’ जडान गरेको हो । पहिलोचरणमा ६ लेन सडकअन्तरगत पर्ने भारतको नाका जोड्ने त्रिनगर भन्सारदेखि मोहनपुरसम्म ‘स्ट्रिप रोपलाइट’ जडान गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

जडित ‘स्ट्रिप रोपलाइट’को आइतबार साँझ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरे । ‘स्ट्रिप रोपलाइट’ को उद्घाटन गर्दै भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले धनगढीलाई नमुना सुन्दर शहर बनाउन तीनै तहको सरकारको सहकार्यमा विकास निर्माणका काम भइरहेको बताए । उनले ६ लेन सडकमा जडान गरिएको ‘स्ट्रिप रोपलाइट’ले धनगढीको रात्रीकालीन सौन्दर्यलाई बढाउने बताए ।

‘स्ट्रिप रोपलाइट’को जडानले धनगढीको ६ लेन सडकको सुन्दरता बढाउने छ । प्रदेशको एक मात्र उपमहानगरलाई नमुना शहर बनाउन सबै क्षेत्र मिलेर संयुक्तरुपमा काम गर्नुपर्ने मन्त्री देउवाको भनाई रहेको थियो ।

उपमहानगरले ३१ लाखको लागतमा ६ लेन सडकका २६५ पोल र १४० वटा ट्रीगार्डमा ‘स्ट्रिप रोपलाइट’ र करिब ३ लाख लागतमा नेपाल–भारत सीमा नाकानजिक रहेको नेपालतर्फको भन्सार गेटमा ‘फ्लोड लाइट’ जडान गरेको धनगढीका नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन् ।

‘स्ट्रिप रोपलाइट’ र ‘फ्लोड लाइट’ जडानपश्चात् ६ लेन सडकमा रात्रीकालीन सौदन्र्य बढेको भन्दै नगरवासी खुसी भएका छन् । उपमहानगरद्वारा जडित ‘स्ट्रिप रोपलाइट’ र ‘फ्लोड लाइट’मा नेपालको राष्ट्रिय झण्डामा अंकित रंग रहेको छ ।

यसैगरी, उपमहानगरपालिकाले धनगढी विमानस्थल क्षेत्र सडकमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । एयरपोर्ट गेटदेखि धनगढी विमानस्थलसम्म करिब १० लाखको लागतमा ५६ वटा स्मार्ट स्ट्रिट लाइट जडान जडान गरेको धनगढी नगर प्रमुख गोपाल हमालले बताए । नगर प्रमुख हमालले उज्यालो धनगढी अभियान अन्तरगत धनगढीका सबै क्षेत्रमा क्रमशः सडक बत्ती र रात्रीकालीन सौन्दर्यकरणका लागि ‘स्ट्रिप रोपलाइट’ जडान गरिने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !