४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

छोरी जन्मिएपछि अस्पतालबाट फरार भएकी आमा अझै फेला परिनन्



छोरी जन्मिएपछि नारायणी अस्पतालमै बच्चा छाडेर फरार भएकी आमा अझै भेटिएकी छैनन्। गत शनिबार बिहान साढे ६ बजे नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज–६ रानीघाट ठेगाना र सीतादवी नाम लेखाएकी महिलाले सामान्य अवस्थामा नै छोरीलाई जन्म दिएकी थिइन्।

अस्पतालमा उनीसँगै उनकी सासु बेडीदेवी पनि पुगेकी थिइन्। छोरीको जन्म भएपछि सासुसँग भनाभन हुँदा अस्पतालमै बच्चा छाडेर सीतादेवी फरार भएकी थिइन्। हजुरआमा पनि सम्पर्कविहीन भएपछि बच्चा अहिले अस्पतालमै छ। बच्चाको अवस्था समान्य रहेको तथा बच्चाको आमा वा घरपरिवारबाट कसैले हालसम्म अस्पतालमा सम्पर्क नगरेको नारायणी अस्पतालमा प्रवक्ता डा. उदय नारायण सिंहले जानकारी दिए।

अस्पतालमा सीतादेवीले आफ्ना श्रीमान्‌को नाम दीपक कानु लेखाएकी छन्। उनले लेखाएको ठेगाना गलत रहेको तथा छोरी जन्मिएका कारणले नै बच्चालाई छोडेर हिँडेको हुनसक्ने उनले बताए। यसअघि सीतादेवीले तीन छोरी जन्माएको सिंहले बताए।

बच्चालाई छाडेर आमा र परिवारजन फरार भएपछि अस्पतालले पर्सा प्रहरीलाई खबर गरेको थियो। आइतबारदेखि नै प्रहरीले बच्चाको आमा र परिवारलाई खोजी गरिरहेको भए पनि हालसम्म भेटाउन नसकिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।

ठेगाना गलत भएकोले खोजीमा अप्ठयारो भइरहेको बताउँदै खोजी कार्य भने जारी रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय