१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पूर्वयुवराज पारसले विद्यार्थी बोकेको बसलाई पेस्तोल ताकेर गाडी हुईँकाएपछि…



चितवन । पूर्वराजा ज्ञानेन्द्र शाहले गत साता ११ दिन परिवारसहित चितवनमा ‘भ्याकेसन’ मनाए । पूर्वराजाको चितवन बसाई नितान्त पारिवारिक थियो । पूर्वरानी कोमल राज्यलक्ष्मी राणाको जन्मदिवससमेत यतै मनाएर पूर्वराजपरिवार काठमाडौं फर्किएको हो । पूर्वराजा परिवारको भ्रमण दलमा पारससमेत सहभागी रहेको बताइएको छ । यद्यपि, आमाको जन्मोत्सवका तस्बिरमा उनी देखिएका छैनन् । बरु पारसले चितवनको एउटा विद्यालयको स्कूल बसलाई पेस्तोल ताकेको आरोप विद्यार्थीका अभिभावकले लगाएका छन् ।

चितवनको भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कूलको बस गत बुधबार सधैँजस्तो आफ्ना विद्यार्थी बोकेर घरघर पुर्‍याउन गइरहेको थियो । सोही नगरपालिकाको वडा नम्बर ८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी झारेर बस मोडिन आँट्दा पछाडि कालो रंगमा आइरहेको गाडी रोकियो । गाडीले प्याँप्याँ हर्न बजायो । गाडी घुमाउन अलिबेर लागेपछि एक व्यक्ति कारबाट झोक्किँदै बाहिर निस्किए । उनले ड्राइभरलाई थर्काउँदै गाडीतर्फ पेस्तोलसमेत ताकेको प्रत्यक्षदर्शीको भनाइ छ । उनी पारस शाह नै भएको ठोकुवा समेत गरिएको छ । सोही विद्यालयमा आफ्नो बच्चा पढाइरहेका नेपाल क्रिकेट संघ (क्यान) का बागमती प्रदेश कार्यसमिति सदस्य अनिल अधिकारीले फेसबुकमा घटनालाई गुपचुप राख्न खोजिएको दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘चितवनको सनराइज स्कूलको विद्यार्थी बोकिरहेको स्कूल बस ड्राइभरलाई केही दिनअघि पूर्वयुवराज पारस शाहले बन्दूक देखाएर तथानाम गाली गरेको घटनाको विषयमा स्कूलको प्रचार्य शिव बगाले सरलाई कार्यकक्षमा भेटेर जानकारी लिएर फोनबाट चितवन प्रहरी प्रमुख भाबेश्वोर रिमाल, नेपाली कांग्रेस चितवनको पार्टी सभापति राजेश्वर खनाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, चितवन क्षेत्र नम्बर २ की सभासद शान्ती परियार, नेताहरू जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ, कृष्णराज लब्लीलाई जानकारी गराएको छु ।

केही विद्यार्थी र युवा नेताहरूलाई घटनाको जानकारी छ । सनराइज स्कूलको विद्यार्थी तथा स्टाफहरू सबलाई थाहा छ । उनीहरू सबै बोल्न डराइरहेका छन् । प्रहरीले घटनाको अनुसन्धान गर्दै छ भनेर पन्छिएका छन् । यस विषयमा विद्यालयका प्रधानाध्यापक शिवकुमार बगालेसँग जिज्ञासा राख्दा उनले घटनामा संलग्न व्यक्ति पारस शाह नै हुन् भन्ने एकिन नभएको बताए । ‘विद्यार्थी बोकेर बस जाँदै गर्दा पछाडिबाट एउटा प्राइभेट कार तीव्र गतिमा गइरहेको रहेछ । कार टाढा नै भएकोले विद्यार्थी झार्न लाग्दा ती सन्की व्यक्तिले एकदमै चर्को स्वरमा हर्न बजाएछन् ।

त्यसपछि गाडीबाट ओर्लिएर कोटको खल्तीबाट पिस्तोल जस्तो बस्तु निकालेर थर्काएर तुरुन्तै तीब्र गतिमा अघि बढेछन् ।’ उनले यसबारेमा जिल्ला प्रहरी कार्यालय चितवनमा सबै जानकारी गराएको बताए । यद्यपि चितवन प्रहरीले भने पूर्वराजपरिवारका सदस्यको बारेमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले भने, ‘मैले पनि सामाजिक सञ्जालतिर देखेर थाहा पाएको हुँ, हामीलाई यसबारे कसैले जानकारी गराएको पनि छैन, निवेदन पनि परेको छैन ।’


प्रतिक्रिया दिनुहोस !