१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

माओवादी छोड्ने तयारीमा खगराज भट्ट, एमालेसँग चलाए घनिभूत संवाद



कैलाली । काठमाडौँमा सम्पन्न माओवादी स्थायी समिति बैठक बहिस्कार गरेका स्थायी समिति सदस्य खगराज भट्ट अन्ततः माओवादी परित्याग गर्ने सम्मको योजनामा पुगेका छन् । पहिला दिनमा स्थायी समिति बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा मानबहादुर धामीलाई वैधानिकता दिन र खगराज भट्टलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने प्रस्ताव ल्याएपछि प्रचण्डको उक्त प्रस्तावमा भट्टले ठाडै विरोध गरेका थिए ।

‘मेरो बलिदानीपूर्ण राजनीति जीवन र साङ्गठनिक जीवन सक्ने डिजाइनमा यो प्रस्ताव आयो । मेरो बाँकी निर्णयबाट म स्वतन्त्र छु । प्रदेश सभामा राजीनामासम्म दिन सक्छु ’ भट्टले बैठकमै भने र निस्किएका थिए । पहिलो दिनको बैठकको आधाबाटै निस्किएका भट्ट दोस्रो दिनको बैठकमा गएनन् । आफूलाई माओवादी संसदीय दलको नेता र पार्टीको ठोस जिम्मेवारी दुबैबाट किनारा लगाएपछि उनी अहिले पार्टी छोड्ने सम्मको योजनामा पुगेका हुन् । भट्टले आफू निकटसँग यस विषयमा कुराकानी समेत गरेका छन् ।

लेखराज माओवादी सुदूरपश्चिम इन्चार्ज हुँदा खगराज सह–इन्चार्ज थिए। लेखराज एमाले भएपछि खगराज माओवादी सुदूरपश्चिम इन्चार्ज बने । तर, माओवादीले चलाएको तीन महिने अभियानका क्रममा सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी खोसेर केन्द्रीय सचिव डिलाराम आचार्यलाई दिइयो । बुधवार स्थायी समिति बैठकले पदाधिकारीबाट इन्चार्ज तोक्दा भट्टलाई सहइञ्चार्जको जिम्मेवारी दिने अपेक्षा गरिएको थियो । तर, इन्चार्जको जिम्मेवारी उपमहासचिव गिरिराजमणि पोखरेल र सह–इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य बिना मगरलाई दिइयो ।

उनले बुधबारनै अध्यक्ष प्रचण्डलाई लिखित रूपमै चार प्रश्न गरेका थिए । ‘सुदूरपश्चिमको पार्टी सिद्ध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ भन्दै भट्टले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका थिए । माघ १२ गते संसदीय दलको नेताबाट हटाइएका भट्टले आफू हुँदा हुँदै जुनिअरलाई सह इन्चार्ज बनाएपछि पार्टी छोड्ने मनस्थितिमा पुगेका उनी निकट नेताहरू बताउँछ ।

अहिले भट्टको एकशुत्रीय माग संसदीय दलको नेतामा पुर्नवहाली हो । उनले त्यसको लागि केही समय पर्खिने बताएका छन् । संसदीय दलको नेताबाट हटाइएपछि भट्टलाई मन्त्री बनाउने तयारी पनि गरिएको थियो तर, भट्टले दलको नेता बाहेक कुनै पनि विकल्पमा सहमति नहुन नसक्ने बताएका थिए । माघ १९ गते खगराज भट्ट सहित सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सांसद जनकीदेवी कुँवर, प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र प्रचण्ड बुहारी समेत रहेकी नेतृ विना मगरले प्रचण्डलाई भेटेर संसदीय दलको नेतामा भट्टलाई पुर्नवहाली गर्नु पर्ने बताएका थिए । त्यस क्रममा प्रचण्डले भट्टलाई अन्याय हुन नदिने बताएका थिए । तर, स्थायी समिति बैठकमै प्रचण्डले मानबहादुर धामीलाई संसदीय दलको नेतामा वैधानिकता दिनुपर्ने बताएपछि भट्ट पार्टी नै छाड्ने तयारीमा पुगेका हुन् । लेखराज माओवादीमा हुँदा प्रचण्डनिकट भएर लेखराजले खगराजलाई चेपुवामा पारेका थिए। अहिले माओवादीमा उनी जनार्दन शर्मानिकट मानिन्छन् । उनलाई संसदीय दलको नेताबाट हटाउँदा प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन गुट एकै ठाउँ देखिए ।

माओवादी संसदीय दलको नेताबाट हटाइएपछि उनलाई एमालेका शीर्ष नेताहरूले सम्पर्क गर्न थालेका थिए । ‘ प्रदेशका एक मात्र स्थायी समिति सदस्य दलको नेता नरहेको र पार्टीको ठोस जिम्मेवारी पनि नपाएको भन्दै एमाले शीर्ष नेताहरूबाटै पार्टीमा आउन आग्रह सहितका फोनहरू आइरहेका छन् ’ उनी निकट स्रोतले भन्यो ‘ यसरी फोन गर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली निकट एमालेका एक पदाधिकारी छन् । नेकपा हुँदा भट्ट एमाले शीर्ष नेतासँग पनि निकट थिए । ती नेताले पनि भट्टको इमानदारिता र क्षमताको कदर गर्ने भन्दै पार्टीमा आउन आग्रह गरेको बताइएको छ ।

खगराज भट्टले पनि आफूलाई एमाले शीर्ष नेताले पार्टीमा आउन आग्रह गरेको पुष्टि गरे । उनले अहिले आफू अन्यायमा पारेको कुरा माओवादीको मात्रै चासो नभएर राष्ट्रिय चासोको विषय रहेको बताउँछन् । अघिल्लो सरकारमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामीलाई नियुक्त गर्दादेखि नै विना मगर र खगराज भट्टबीच तिक्तता सुरु भएको थियो । त्यो बेला भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्रीमा कञ्चनपुरका मानबहादुर सुनारको नियुक्तिलाई लिएर पनि भट्टले विरोध जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !