१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

गुराँस फुलेर राताम्मे भए डाँडा



थरीथरीका फूल फुलेर सजिएको घना जङ्गल । वन्यजन्तु र चराचुरुङ्गीको चिरबिर आवाज, ढोरपाटनसहित बागलुङका गाउँ अनि लहरै देखिने सेताम्मे हिमाली दृश्य यतिबेला निकै मनमोहक लाग्छन् । भोटे कुकुर भुक्ने ठुला ठुला भेडीगोठ र त्यसैमाथि हेरिरहूँ लाग्ने गुराँस र फूलले ‘नाङ्गी’ लेकलाई छपक्क ढाकेको छ । यहाँबाट कोठीभिरसम्म गुराँस फुलेर डाँडा रातै भएको छ । 

ती रङ्गीन र स्वागतमा पर्खिए झैँ लाग्ने फूलहरूमाथि कसरी हिँड्नु ? खाली देख्न र स्पर्श गर्न मात्र मन लाग्छ । गौमुखी गाउँपालिका निवासी सामाजिक अगुवा ज्ञानुराम न्यौपाने भन्नुभहुन्छ, “नाङ्गी क्षेत्र फूलैफूलको पहाड हो, सम्भावनाको चुचुरो हो । गुराँसे फूलहरूको जङ्गल, वन्यजन्तु र हिमशृङ्खला अवलोकन गर्न सकिने यो क्षेत्रले जोकोहीलाई लोभ्याउँछ ।” 

पर्यटकीय स्थल नाङ्गी क्षेत्रलाई प्राकृतिक सौन्दर्य र पर्यापर्यटनको केन्द्रबिन्दुका रूपमा चिनिन्छ । बागलुङको ढोरपाटन सिकार आरक्षसँग जोडिएको गौमुखी संरक्षित वन यसै क्षेत्रमा पर्छ । २६ हजार २०४ हेक्टर क्षेत्रफलमा यो वन क्षेत्र फैलिएको छ । आर्थिक विकासका लागि महत्वपूर्ण जडीबुटी, लघुवन पैदावार यस संरक्षित वन क्षेत्रमा प्रशस्त पाइन्छन् । यो भेगमा सात प्रजातिका लालीगुराँस पाइने स्थानीय बताउँछन् ।

यहाँ फागुनको अन्तिमदेखि वैशाखसम्म गुराँस फुल्छ । यहाँ कस्तुरी, मृग, चरीबाघ, चितुवा, रेडपाण्डा, घोरल, गिद्ध, कालिज, झारल, नाउरजस्ता वन्यजन्तु अवलोकन गर्न सकिन्छ । भेडीगोठ र गोठाला पनि यहाँका मुख्य आकर्षण हुन् । 

प्राकृतिक मनोरम, जैविक विविधता, विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख वन्यजन्तुका साथै महत्वपूर्ण जडीबुटी पाइने भएकाले यस क्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेको स्थानीय मित्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “ढोरपाटननजिक रहेकाले थुप्रै वन्यजन्तु नाङ्गी आउजाउ गर्छन् ।” करिब ११ किलोमिटर घना जङ्गल रजवारा, अर्खा हुँदै पैदलयात्रा गरेर नाङ्गी पुग्न सकिन्छ । समुद्री सतहबाट तीन हजार तीन सय मिटर उचाइमा रहेको नाङ्गीलाई छोटो पदयात्राको नयाँ गन्तव्यका रूपमा लिइन्छ ।

गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले नाङ्गी क्षेत्रको विकासका लागि पहल थालिएको बताउनुभयो । पहिलो चरणमा करिब ५० लाख रुपियाँ बजेटबाट यहाँ आवासीय भवन, शौचालय, आराम गर्ने कुर्सी र पदमार्ग निर्माण गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

महाभारत पहाडी शृङ्खलामा रहेको प्युठानको कोठीभिर, नाङ्गी र पञ्चासे लेकले राप्ती नदीको समेत जलाधार क्षेत्र संरक्षणमा टेवा पु¥याइरहेको सम्बद्ध विज्ञहरू बताउँछन् । प्युठानलगायतका छिमेकी जिल्लामा मनसुनी वर्षा गराउन यो पहाडी शृङ्खलाको महत्वपूर्ण योगदान रहेको मानिन्छ ।   


प्रतिक्रिया दिनुहोस !