१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आठ महिनामा १९ अर्ब ३७ करोडको स्मार्टफोन आयात



नेपालमा स्मार्टफोनको आयात बढेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।

यस अवधिमा १२ लाख ४९ हजार ४८१ यूनिट स्मार्टफोन आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म १६ अर्ब ६० करोड २ लाख ७३ हजार रुपैयाँ बराबरको १० लाख ९४ हजार ८८९ यूनिट स्मार्टफोन आयात भएको थियो।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा स्मार्टफोनको आयात २ अर्ब ७७ करोड ७४ लाख ९५ हजार रुपैयाँ अर्थात १६.७१ प्रतिशतले बढेको छ।

सोही अवधिमा स्मार्टफोनको आयात १ लाख ५४ हजार ५९२ यूनिट अर्थात १४.११ प्रतिशतले बढेको छ।
चालु आवको आठ महिनाको अवधिमा स्मार्टफोनको आयात मार्फत सरकारले ३ अर्ब ६० करोड ७५ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ५८ मुलुकबाट स्मार्टफोन आउने गरेको छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात हुने गरेको देखिन्छ। चीनबाट फागुन मसान्तसम्म १३ अर्ब २९ करोड ३३ लाख ९८ हजार रुपैयाँ बराबरको ९ लाख १८ हजार २४ यूनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट ५ अर्ब ७४ करोड ८० लाख २३ हजार रुपैयाँ बराबरको ३ लाख २७ हजार ५६० यूनिट स्मार्टफोन आयात भएको छ।

बाँकी ५६ मुलुकबाट ३३ करोड ६३ लाख ४७ हजार रुपैयाँ बराबरको तीन हजार ८९७ यूनिट स्मार्टफोन आयात भएको छ।


प्रतिक्रिया दिनुहोस !