१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

विश्व शान्ति सम्मेलनको सन्देश : बुद्धको शिक्षा नै कुटनीतिक शक्ति



भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कूटनीतिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ । परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुईदिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्य दूतहरुले बुद्धको शान्ति र अहिंसाको मार्गलाई कूटनीतिक शक्तिका रुपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश दिएका हुन् । 

मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अहिलेको विश्वमा विभिन्न प्रकारको द्वन्द्वहरु देखा परेकाले त्यसका लागि बुद्धभूमि नेपालबाट पहल गर्न सकिने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले बुद्वको शिक्षा वैज्ञानिक र व्यवहारिक रहेको बताउँदै लुम्बिनी सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल भएको बताउनुभयो ।

उहाँले बुद्धले आफैलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा आजको विश्वमा झन बढी अपरिहार्य बन्दै गएकोे बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले बुद्ध दर्शनमा सबैभन्दा महत्त्वपूर्ण पाटोका रूपमा ध्यान (मेडिटेशन) रहेकाले यसलाई विश्वव्यापी बनाउनुपर्ने बताउँदै मन केन्द्रित गरिने ध्यान बौद्ध धर्ममा मात्रै सीमित नरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले खुसी, शान्ति र सन्तुष्टिका साथ बाँच्नका लागि बुद्ध शिक्षा महत्त्वपूर्ण हुने बताउनुभयो । बुद्धले जबसम्म परीक्षण गरेर सत्य स्थापित हुँदैन तबसम्म विश्वास नगर भनेर भनेको सन्दर्भ उल्लेख गर्दै उहाँले बुद्ध जन्मस्थलबाट विश्वमा शान्ति र समृद्धिको सन्देश दिन पाउँदा निकै खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पुर्‍याउने विश्वास लिनुभयो । उहाँले लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकासमा प्राथमिकताका साथ काम गर्ने बताउनुभयो  ।

त्यस्तै, लुम्बिनीमा आएका विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्यदूतहरुलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्त्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले विश्व शान्ति प्रवर्द्धन गर्ने र विश्वमा देखिएको द्वन्द्व समाधान गरी सहिष्णुता कायम गर्ने बताउनुभयो । उपाध्यक्ष डा. लामाले बुद्धका शिक्षाहरु विश्वभर फैलाउन सक्दा शान्ति, करुणा, सदभाव कायम गर्न सकिने भएकाले यसको सन्देश प्रचार गर्न आग्रह गर्नुभयो ।

बिहीबारदेखि सुरु भएको सम्मेलनमा विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका वाणिज्यदूतहरु र सरकारी अधिकारीहरु बुद्ध जन्मस्थल लुम्बिनीमै आएर बुद्ध, शान्ति र समृद्विका लागि एकताबद्ध भइ सन्देश दिएका हुन् । आयोजक अनरी कन्सुलर कर्प नेपालका डिन विष्णु कुमार अग्रवालले बुद्धको पवित्र जन्मस्थलमा आएर सम्मेलनमार्फत विश्वभमा बढ्दै गएको द्वन्द्व र अहिंसालाई त्याग्दै शान्तिबाटै समृद्धिको बाटोमा जान महत्त्वपूर्ण सन्देश दिन सकिएको बताउनुभयो ।

मायादेवीमा भएको कार्यक्रममा इण्डोनेसियाका राजदूत एनआर हेरु, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बोल्नुभएको थियो । सम्मेलनमा अस्ट्रेलिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इण्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्याण्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी भएका हुन् ।   शुक्रबार लुम्बिनी पुगेका मन्त्री, गैरआवासीय राजदूत र वाणिज्य दूतहरुलाई लुम्बिनी विकास कोषले स्वागत गरेको थियो । त्यस्तै लुम्बिनीमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न देशका गैरआवासीय राजदूतहरुको उपस्थितिमा सीता अशोकको वृक्षारोपण समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय