१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

सत्ता गठबन्धनमा दरार, तीन नेताको बीचमा मिलेन कुरा



काठमाडौं । सत्तारुढ गठबन्धनमा उपनिर्वाचनका विषयमा गम्भीर मतभेद सिर्जना भएको छ । नेकपा (एकीकृत समाजवादी) र नेकपा एमालेको बीचमा गम्भीर मतभेद सिर्जना भएको हो । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको बीचमा भएको बैठकमा निर्वाचनमा साझा उम्मेदवार उठाउने विषयमा माधवले इलाममा छोडेपनि बझाङमा भने पार्टीका तर्फबाट उम्मेदवार उठाएरै छाड्ने अडान लिए । बालुवाटारमा तीन नेताबिचको छलफलमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका कम्युनिस्ट घटकहरू मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

‘एमालेले इलाम र बझाङ दुवै ठाउँमा उम्मेदवार उठाइसकेको छ । ती दुवै ठाउँमा माओवादी र समाजवादी भन्दा एमालेकै राम्रो र जित्ने अवस्था पनि छ’, बालुवाटार बैठकमा ओलीले प्रचण्ड र नेपाललाई भनेका थिए । ओलीको भनाइ सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू सहमतिमै अघि बढ्न तयार रहेको बताएका थिए ।

ओली र प्रचण्डको कुरा सुनेपछि अध्यक्ष नेपालले नेपालले इलाममा एमाले उम्मेदवारलाई सहयोग गर्नुपरे बझाङमा आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । माधवले यसो भनेपछि अध्यक्ष ओलीले उम्मेदवार घोषणा गरिसकेकाले पछि फर्कन एमाले असमर्थ रहने बताएका थिए । त्यसपछि नेता नेपालले प्रचण्डलाई माओवादीबाट उम्मेदवार नउठाएर आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन भनेका थिए । जवाफमा प्रचण्डले पार्टीमा सल्लाह गर्ने बचन दिएका थिए ।

बालुवाटार छलफल लगत्तै सोमबार काभ्रेको बनेपा पुगेर अध्यक्ष नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको स्थानीय नेता कार्यकर्तालाई बताए । बनेपामा आयोजित पार्टीको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने त्यो सम्भव नभए एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताए । उनले इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल भइरहेको भन्दै बझाङमा उम्मेदवार खडा गर्न पार्टीलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

फागुन २१ मा प्रधानमन्त्री प्रचण्ड एमालेसँगको नयाँ समीकरणमा सामेल हुँदा आफूलाई थाहा नै नदिएकोमा नेता नेपाल असन्तुष्ट छन् । कांग्रेससँगको समीकरण तोडेर एमालेसँगको समीकरण बनेपछि एमाले अध्यक्ष ओली र प्रचण्ड दुवैले नेता नेपाललाई मनाएर मन्त्रिमण्डल विस्तार गरेका थिए । सोही अनुसार नेता नेपाल नेतृत्वको पार्टी २ मन्त्रीसहित सरकारमा समेत गइसकेको छ । तर उसले तीन मन्त्री दाबी गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीलाई सकभर नचिढ्याउने पक्षमा छन् । एकीकृत समाजवादी चिढिएमा उसले सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्न सक्ने र त्यसपछि जसपा पनि सरकारबाट बाहिरिन सक्ने अवस्था आउन नदिन प्रचण्ड सचेत देखिन्छन् । यदि एकीकृत समाजवादी र जसपा दुवैले समर्थन फिर्ता गरे प्रचण्ड सरकार अल्पमतमा पर्ने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस !