१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ड्युटीमा खटिएका प्रहरीले रोक्दा अटेरी गर्दै कर्णालीमा हाम फाल्ने १६ जनालाई खोज्दै प्रहरी, शाही अझै बेपत्ता



काठमाडौं । कर्णाली पुलबाट हाम फालेर नदीमा डुबेका युवकको अवस्था अझै अज्ञात छ। मंगलबार दिनभर सशस्त्र प्रहरीको गोताखोर टोलीले खोज्दा पनि उनी भेटिएनन्। सोमबार होली मनाउँदै कर्णाली पुलमा पुगेका १७ युवकले पालैपालो पुलबाट तल हाम फालेका थिए। कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही भने पौडी खेल्न नसकेर नदीमै डुबेका थिए।

लगत्तैदेखि प्रहरी र स्थानीयले खोजी गर्दा पनि शाही भेटिएका छैनन्। मंगलबार रातिसम्म पनि नभेटिएपछि अहिलेका लागि खोजी कार्य रोकिएको छ। भोलि बिहानैदेखि फेरि खोजी गरिने प्रहरीले जनाएको छ। सोमबार दिउँसो २०/२५ जनाको समूहमा रहेका युवाहरू बजारमा होली खेल्दै शरीरको माथिल्लो भागको कपडा फुकालेर कर्णाली पुलमा पुगेका थिए।

उनीहरूलाई पुलमा जाँदै गर्दा ड्युटीमा खटिएका प्रहरीले रोक्दा पनि अटेरी गर्दै त्यहाँ पुगेर पालैपालै नदीमा पौडी खेल्न हाम फालेका थिए। प्रहरीले कर्णालीबाट हाम फाल्ने अन्य १६ जना युवालाई सम्पर्कमा ल्याउँदैछ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीका अनुसार अहिले ६ जनालाई बोलाएर सोधपुछ भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !