१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

सरकारीको रकम हिनामिना गर्ने १०५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



कर्णाली प्रदेशमा सरकारीको रकम दुरुपयोग गरेको आरोपमा १०५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

कर्णालीमा पछिल्लो समय सरकारी साधन स्रोत स्थानीयस्तरमा पुग्दा भ्रष्टाचार पनि बढ्दै गएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको तथ्याङ्कले कर्णाली प्रदेशमा सञ्चालन हुने विभिन्न योजना तथा कार्यक्रममा व्यापक अनियमितता बढ्दै गएको देखाएको छ ।  

जसमा सरकारी कर्मचारी र जनप्रतिनिधिको सेटिङमा योजना तथा कार्यक्रम बनाएर सरकारी बजेट दुरुपयोग भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्कलाई हेर्दा सरकारी कर्मचारीकै सेटिङमा ११ करोड ७३ लाखभन्दा बढी रकम कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता मिलेर अनियमितता गरेका छन् ।

उनीहरूले ११ वटा योजनामा मात्रै ११ करोड ७३ लाख ६० हजार एक सय ६५ रुपियाँ भ्रष्टाचार गरेका हुन् । रकम हिनामिना भएका हरेक योजनामा सरकारी कर्मचारीको संलग्नता छ । ११ वटा योजनामध्ये मुगुमा चार, हुम्लामा चार, सुर्खेतमा दुई र डोल्पामा एक योजना छ । जसमा एउटा योजनाको काम नै नगरी गलत बिल भर्पाई बनाई रकम भुक्तानी गरिएको छ । 

अन्य योजनामा काम कम बढी भुक्तानी गरिएको, झुटा बिल भर्पाई पेस गरी भुक्तानी लिएर सरकारी रकम दुरुपयोग गरेको अख्तियारको तथ्याङ्कले देखाएको छ । कर्णालीमा योजनाको रकम हिनामिना गरी गैरकानुनी लाभ तथा हानि नोक्सानी र सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्नेको सूचीमा एक सय पाँच जनाको नाम उल्लेख छ । 

उनीहरू सबैविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा पेस भएका उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालयले मुद्दा दायर गरेको हो । 

यी मुद्दा चालु आर्थिक वर्ष २०८०/०८१ को साउन १२ गतेदेखि चैत १ गतेसम्मका मात्रै हुन् । अदालतको फैसलापछि भ्रष्टाचारमा जोडिएका एक सय पाँच जनाले नै बिगो रकम फिर्ता गर्नुका साथै दोषी ठहरिएमा मुद्दाको प्रकृतिअनुसार तीन महिनादेखि १० वर्षसम्म कैद सजाय भोग्नुपर्ने कानुनी व्यवस्था छ ।  


प्रतिक्रिया दिनुहोस !