१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

प्रेमीले अश्लील भिडिओ भाइरल बनाएपछि १६ वर्षीया युवतीले गरिन् आत्महत्या



बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ पातलीकी १६ वर्षीया पशुपति महरा गत आइतबार बिहान घरनजिकैको खालीपातल सामुदायिक वनभन्दा केही तल रुखमा झुण्डिएको अवस्थामा भेटिईन ।

पशुपति घरमा आमा र भाइसँग बस्थिन्। बुवा कामको सिलसिलामा भारतमा थिए। छोरीको दुःखद् घटनापछि हाल उनको बुवा घर फर्किसकेका छन्। पशुपति कफलकोटस्थित रौलेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्थिन्।

प्रकाश बलायर नामका युवकसँग उनी ‘प्रेम सम्बध’मा थिइन्। यसबारे पशुपतिको परिवारलाई भने जानकारी थिएन। उनीहरूले एकआपसमा फेसबुकको पासवर्डसमेत साटासाट गरेका थिए। फेसबुक म्यासेन्जरमा उनीहरूबीच कुराकानी भइरहन्थ्यो। मायामा चुर्लम्म डुबेकी पशुपतिलाई ललाईफकाई भिडिओ कलमा नग्न हुन बाध्य पारिन्छ। त्यस्ता भिडिओ र तस्बिर फेला परेका छन्। पशुपतिका ती गोप्य भिडिओ र तस्बिर फेसबुक म्यासेजर ग्रुपमा पठाइयो। बेइज्जत भएपछि पशुपति आत्महत्याको बाटो रोज्न बाध्य भएको पारिवारिक स्रोत बताउँछ।

पशुपतिको कोठामा भेटिएको कापीमा ‘प्रकाश बलायर र उनको पासवर्ड’ लेखिएको पाइएको छ। यस्तै पशुपतिले आत्महत्या गर्नुअघि दुई पाना लामो सन्देश छाडेकी छन्। उनको कोठामा पाइएको उक्त सन्देशमा परिवारका सदस्य र इष्टमित्रलाई सम्झदै क्षमा मागेकी छन्। आत्महत्याको कारण भने खुलाएकी छैनन्।

आमालाई बुवाको स्वास्थ्यमा ख्याल गर्न भनेकी छन्। उनले लेखेकी छन्, ‘…भाइको गायक बन्ने सपना पूरा गरिदिनू है…’ पीडित परिवारले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका गोप्य ‘भिडिओका स्क्रिन सट’लगायत सम्पूर्ण विवरण प्रहरीलाई बुझाएको छ। उनीहरूले घटनाको सत्य, तथ्य छानबिन गरेर दोषीलाई कारबाही माग गरेका छन्।

ती युवकविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिने पीडित परिवारले तयारी गरेको छ। घटनालगत्तै पीडित परिवारले सत्य, तथ्य छानबिनका लागि ठाडो उजुरी दिएको थियो। पशुपतिको मोबाइल खल्तीमै भेटिएको थियो। मोबाइल परीक्षणका लागि काठमाडौँस्थित डिजिटल फरेन्सिक ल्याबमा पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय