१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

रास्वपाबाट इलाम-२ को टिकट लिएका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त



काठमाडौं । वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम २ को उम्मेदवार बन्न राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका मिलन लिम्बू नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरबाट बर्खास्त भएका छन्। माओवादी केन्द्रमा आवद्ध उनी बिहीबार रास्वपामा प्रवेश गरेर इलाम २ को टिकट लिइसकेका छन्। मिलनले रास्वपाबाट टिकट लिएलगत्तै प्रेस सेन्टरले विज्ञप्ति निकालेर बर्खास्त गरिएको जनाएको छ।

मिलन रास्वा प्रवेश गर्नुअघि माओवादीको उपत्यका विशेष प्रदेश समिति सदस्य र प्रेस सेन्टरका सचिवसमेत थिए। माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न अर्कोतिर लागेपछि उनलाई बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेले बताएका छन्।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २५ गते राति निधन भएपछि इलाम २ रिक्त थियो। जहाँ आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा मिलन माओवादी छाडेर रास्वपाबाट उठ्दैछन्। उनलाई रास्वपाले बिहीबार टिकट दिइसकेको छ।

उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ उठेका छन्। त्यस्तै पहिचानवादी दलहरूले पनि उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने उम्मेदवार तय गरेका छैनन्।


प्रतिक्रिया दिनुहोस !