२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

आमाको हत्या आरोपमा छोरा पक्राउ



मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । घरायसी विवादको कारण स्थानीय ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाललाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । 

गत फागुन ३० गते बिहान करिब १०ः०० बजे घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा घरको ढोका नखुलेको पाइएपछि इलाका प्रहरी कार्यालय चित्लाङबाट गएको प्रहरी टोलीले स्थानीयको उपस्थितिमा ढोका खोली हेर्दा ५० वर्षीया ज्ञानी माया खाटमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेको थियो । 

इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि  शिक्षण अस्पताल पठाएकोमा सोही दिन नै शव आफन्तले बुझी लगेका थिए । घटनाको थप अनुसन्धानको क्रममा खोज तथा स्थानीयसमेतको अनुसन्धानबाट मृतकको छोरा २६ वर्षीय मिलन गमालले नै घरायसी विवादको कारण कर्तव्य गरी मारेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय पालुङले निज मिलनलाई थाहा नगरपालिका १० बाट नियन्त्रणमा लिई अन्य अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !