२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

नलगाडका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो



जाजरकोटको नलगाड नगरपालिकाभित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् । 

तलब नपाउँदा घर खर्च चलाउन नै मुस्किल भएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । धेरैपटक तलब माग गरे पनि सुनुवाइ नभएको स्वास्थ्यकर्मी राधिका पुनले जानकारी दिनुभयो । सोमबार भएको अर्धवार्षिक समीक्षामा तलबको विषयमा प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई र नगरप्रमुख डम्बर रावतले सम्बोधन नगरेको उहाँले सुनाउनुभयो । नलगाडको विकास बजेट २० प्रतिशत पनि खर्च नभएको पाइएको छ । 

प्रमुख प्रशासकीय अधिकृत भट्टराई र अन्य कर्मचारीबीच तालमेल नमिल्दा बजेट खर्चदेखि सेवा प्रवाहमा असर परेको छ । नगरप्रमुख रावत र प्रमुख प्रशासकीय अधिकृत भट्टराईको बीचमा काम गर्ने विषयमा तालमेल नमिल्दा सबै काम ठप्प भएको नगरप्रमुखको सचिवालले जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृतले भनेको केही नगरी आफ्नै तरिकाले चल्न खोज्दा समस्या भएको सचिवालयले जनाएको छ ।

जुम्लाको गुठीचौर गाउँपालिकाबाट दुई महिनामै फिर्ता पठाएका भट्टराई नलगाडमा सोही व्यवहार दोहोर्याउन थालेको सचिवालयको भनाइ छ । पत्र काटेर फिर्ता पठाइदिन अधिकृत भट्टराईले नगरप्रमुख रावतलाई धम्की दिने गरेका छन् । अधिकृत भट्टराईको दबाबका कारण प्राविधिक शाखाका इञ्जिनियर उमेश खड्काले जागिरबाट राजीनामा दिई काठमाडौँ जानुभएको थियो । नगरप्रमुखले सम्झाईबुझाई गरेर प्रमुख प्रशासकीय अधिकृतलाई काममा लगाउनुभएको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !