१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

उमेदवार टुंगो लगाउन बसेको बैठकमा देउवाले पेलेपछि शेखर र शशांक बाहिरिए



काठमाडौं । इलाम र बझाङको उमेदवारको टुंगो लगाउन बसेको नेपाली कांंग्रेसको बैठकमा चर्को विवाद भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले इलामका सभापति डम्बर खड्कालाई उमेदवार बनाउने अडान राखेपछि शेखर कोइरालाले स्थानीयको सुझाव छाडेर निर्णय लिन नहुने बताएका छन् । उनले निकटतामात्रै हेरेर निर्णय लिने भए हार र जितका जिम्मा लिनुपर्ने चुनौती दिएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार सुरुमा महामन्त्री गगन थापाले सभापति र उपसभापतिसँग छलफल गरेका थिए । तर, उनीहरूले अडान नछाडेपछि महानमन्त्री थापाले शेखरलाई देउवा र खड्कासँग संवाद गर्न आग्रह गरेका थिए । संवादका क्रममा शेखरले स्थानीयको चाहनालाई बेवास्ता गरे पार्टीलाई दुर्घटनामा पुर्‍याउने चेतावनी दिएका थिए । शेखरले इलाम–२ मा भेषराज आचार्यलाई उमेदवार बनाउनुपर्ने अडान लिएका छन् ।

शेखरको भनाइमा पूर्वमहामन्त्री शशांक कोइरालाले पनि समर्थन जनाएका थिए । “शेखर दाइले भनेको कुरामा मेरो पनि सहमति हो,” यति भनेर दुवै नेता बैठकबाट बाहिरिएका थिए । बझाङको प्रदेशसभा उमेदवारका विषयमा पनि कांग्रेस बैठकमा विमति भएको छ । बैठकमा सहभागि ती नेताका अनुसार पार्टीको निर्णयविपरीत बझाङमा टिकट दिन लागिएको भन्दै शेखरले असहमति जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !