१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

२०२१ पछि मात्रै कोरियाली भाषा परीक्षा हुने



काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस/माघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सात/आठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिनुभयो ।

उहाँले कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीन÷चार महिना धकेलिन सक्ने सङ्केत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एचआरडीसँग हामी सम्पर्कमै छौँ । सहज हुनेबित्तिकै परीक्षा हुन्छ तर तीन÷चार महिनायता सहज होलाजस्तो पनि देखिँदैन । ”

भाषा परीक्षा नगर्ने बारेमा अहिलेसम्म कोरियाको ईपीएस हेर्ने एचआरडीले कुनै जानकारी नदिएकाले परीक्षा हुन्छ तर ढिला भने हुने भयो, उहाँले थप्नुभयो । सन् २००८ देखि सुरु भएको ईपीएस भाषा परीक्षा यसअघि सन् २०१२ मा पनि भएको थिएन ।

कोरियामा कोरोना सङ्क्रमण नियन्त्रणतर्फ भए पनि नेपालमा भने बढ्दै गइरहेको छ । यस्तो बेला हजारौँ मानिस जम्मा गरेर परीक्षा सञ्चालन गर्न तत्कालका लागि सम्भव नदेखिएपछि नेपाली पक्षले पनि परीक्षा गराउनुपर्छ भनेर कुनै पहल गरेको छैन ।
ईपीएस शाखाका अनुसार कोरोना सङ्कट सुरु भएयता एक हजार ७०१ युवाले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरे पनि कुनै श्रमिक पनि कोरिया प्रवेश गर्न पाएका छैनन् । श्रम सम्झौता गरेर भिसा प्राप्त गरेका ९६१ जनाको भिसाको म्याद सकिन लाग्दासमेत अहिलेसम्म कोरिया जान पाएका छैनन् । शाखाका अनुसार उनीहरूको भिसा म्याद नोभेम्बरको दोस्रो सातासम्म मात्र रहेको छ ।

नेपालबाट वार्षिक औसतमा आठ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने भए पनि यो वर्षको नौ महिनामा एक हजार २७ जना नेपाली मात्र रोजगारीका लागि कोरिया गएको शाखाले जनाएको छ ।

सन् २०१९ मा सात हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । हालसम्म चार हजार २० महिला र ६२ हजार ८५२ पुरुषसहित ६६ हजार ८७२ नेपाली रोजगारीका लागि दक्षिण कोरिया गइसकेका छन् । हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत छन् ।- गोरखापत्र अनलाईनबाट


प्रतिक्रिया दिनुहोस !