१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पीसीआर परीक्षणमा बढी शुल्क लिने प्रयोगशालालाई स्वास्थ्य मन्त्रालयको २४ घन्टे चेतावनी



काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने प्रयोगशालालाई कारबाहीको चेतावनी दिएको छ।

मन्त्रालयले पीसीआर परीक्षणमा बढी शुल्क लिने आठ वटा प्रयोगशालालाई २४ घण्टाभित्र मूल्य समायोजन गर्न निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार ह्याम्स अस्पताल, डिकोड ल्याब, इन्ट्रिपेड ल्याब, स्टार अस्पताल, नेपाल मेडिसिटी अस्पताल, बीएण्डबी अस्पताल, सिडीएल र सुर्या हेल्थकेयरले सरकारले तोकेको भन्दा बढी शुल्क लिएर पीसीआर परीक्षण गरेको पाइएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले मन्त्रायलय स्तरीय इन्सिडेन्ट कमाण्ड सिस्टमकाे निर्णय सुनाउँदै भने, ‘आज एक पटकका लागि चेतावनी दिने र २४ घण्टाभित्र तोकिएको शुल्कभित्र शुल्क समायोजन नगरेमा प्रयोगशालाको परीक्षण स्वीकृत खारेज गरी पत्राचार गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय भएको छ।’

सरकारले गत भदौ २८ गते निजी तथा सरकारी सबै प्रयोगशालाका लागि पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकेको थियो। त्योभन्दा बढी शुल्क उठाउनेलाई कालोबजारी गरेको आधारमा प्रयोगशाला बन्द गर्न गृहमन्त्रालय र वाणिज्य विभागलाई लेखिपठाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !