१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

करोडौंको बएना गरिएको बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५, नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त समूहले गएको बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो । फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष तीन करोड रुपैयाँमा बिक्री गर्न बैना गरिएको तामाङले बताइन् । उनका अनुसार, बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झन्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो ।

मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरिएको हो । प्रभातलाई शनिबार काठमाडौंको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

प्रहरीका अनुसार, ठाकुरानीको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजंग गणले निष्क्रिय पारेको थियो । घटनामा संलग्न अरू व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !