२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

बाँदरको हातमा नरिवल र रोहितको हातमा नेपाली क्रिकेटको कप्तानी



काठमाडौं । नेपाली क्रिकेट टोली ओमान जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ । टस हारेर पहिला ब्याटिङको निम्ता पाएको नेपालले केवल ११९ रन मात्र बनाउन सक्यो । नेपालका ८ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। सन्दीप जोराले सर्वाधिक ५० रन जोडे। गुल्सन झाले २० र करन केसीले १७ रन बनाए।

निर्णायक घडीमा जहिल्यै पनि ब्याटबाट रन निकाल्न नसक्ने नेपालको ओपनिङको पुरानै रोग दोहोरियो । कुनै समयको कमजोर मानिने नेपालका ओपनिङ सागर पुन र सुवास खकुरेलको जोडी भन्दा पनि कुशल भुर्तेल र आसिफ सेखको ओपनिङ कमजोर साबित भयो । इनिङ्सको पहिलो बलमै कुशल भुर्तेल गोल्डेन डकआउट भएका थिए। त्यसपछि ब्याटिङ गर्न मैदानमा उत्रिएका रोहित पौडेलको ब्याटिङ देख्दा लाग्थ्यो उपल्लो क्रमको ब्याटर होईन, दशौँ र एघारौँ स्थानमा ब्याटिङ गर्न आएका बलर हुन् र ती बलर टेस्ट म्याच खेलिरहेका छन् टी-२० होईन । उनले गरेको सर्ट बलविरुद्धको संघर्षको कहानीको कुरा गर्ने हो भने झन् उदेक लाग्दो थियो ।

अवस्था यस्तो पनि देखिन्थ्यो कि उनको ब्याट र युएईका बलरहरुले फालेको सर्ट बलको दुरी सायद करिब एक फुटभन्दा बढ्ता टाढा पो मापन हुन्थ्यो कि ? उनी ब्याटबाट रन निकाल्न होईन, कि झिंगा धपाउन मैदानमा उत्रिएको भान हुन्थ्यो । त्यही भएर उनले १९ बल टिकेर पाँच रन बनाउन सक्नु नै उनका लागि ठूलो सफलता नै थियो सायद । बल र ब्याटको कनेक्सन मिलाउन रोहितलाई हम्मेहम्मे मात्र होईन, उनको ब्याटिङभन्दा सायद नयाँ सिकारु बलरले राम्रो कनेक्सन मिलाउन पो सक्थ्यो कि ?

तुलनात्मक रुपमा साना तथा कमजोर मानिने मलेशिया र मंगोलियाजस्ता टिमका बलरहरुलाई चुटेर हैरान पार्ने रोहित पौडेल जहिले पनि बलिया टिमका अगाडी भिजेको बिरोलो शैलीमा प्रस्तुत हुन्छन् । त्यसको पुष्टि वेस्ट इण्डिज, भारत, पाकिस्तानविरुद्धका खेलहरुमा रोहितले बनाएको रनको आकडा हेर्दा पनि पुष्टि हुन्छ । त्यस्तै रोहित आज बलियो प्रतिद्धन्द्धी युएईविरुद्ध ब्याटिङ गर्न होईन, कि बालुवाले पानी सोसे जस्तै बल सोस्न मैदानमा आएका थिए भन्ने उनको ब्याटिङले पुष्टि गरिसकेको छ । उनको आजको प्रदर्शन कप्तानको जस्तो जिम्मेवार होईन, आफ्नो करिअरको डेब्यु खेलमा नर्भस भएको निरिह खेलाडीको भन्दा पनि फितलो थियो ।

त्यस्तै आज ओपनिङमा उत्रिएका आसिफ शेखको ब्याटिङको पनि चर्चा गर्नु अति आवश्यक छ । एउटै खेलमा तीन चार पटक क्याच नछुट्दासम्म रन बनाउन हिम्मत नगर्ने आसिफ पनि युएईको सर्टबलका अगाडी निरिह बने । तर कमजोर टिमका बलरहरुलाई भने आसिफले दबङ स्टायलमा चुट्ने गर्दछन् । आसिफले हरेक सर्ट बलमा ब्याटको कनेक्सन गराउन पसिना छुटाउनु परेको थियो । कसिलो बलिङविरुद्ध उनको ब्याटबाट रनको अपेक्षा गर्नु भनेका हत्केलाले सुर्यको प्रकाश छेकेर संसारलाई अध्यारो बनाउनु जस्तै हो भन्ने आजको उनको ब्याटिङले पुष्टि गरेको छ । त्यस्तै कुशल भुर्तेलको पनि दश खेलमा एक दुई वटा अर्धशतक र अरु सात आठ वटामा पचास रन पनि कटाउन गाह्रो भएको पछिल्ला उनका ब्याटिङका आँकडाले पुष्टि गर्छ ।

सबभन्दा बढी आशा गरिएका भुर्तेल पहिलो बलमै गोल्डेन डकआउट हुनु नेपालको हारको रोहित पछिको दोस्रो कारण हो । मल्लले पनि सम्हालिन सकेनन् । उता सबभन्दा बढी आशा गरिएका दीपेन्द्रसिंह ऐरी ५ रन जोडेर आउट भए। उनले कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल र कुशल मल्लले थोपरेको प्रेसर थेग्ने मनस्थितिले मैदान उत्रिए । उनले आफ्नो नेचुरल गेमभन्दा पनि ती चार ब्याटरहरुले थोपरेको भारत उठाउने उदेश्य लिन खोज्दा ५ रन बनाएको अवस्थामा एलबीडब्ल्यु हुन पुगे । उनले रोहित, कुल भुर्तेल, आसिफ शेख लगायतका उपल्लोक्रमका ब्याटरको भार बोक्ने भन्दा पनि आफ्नो नेचुरल गेम खेल्ने प्रयत्न गरेनन् । उनको त्यो अनाआवश्यक प्रेसरको मनस्थिति पनि नेपालको हारको एउटा कारक बन्यो भन्दा फरक नपर्ला ।

त्यस्तै कप्तान रोहित पौडेलले परिस्थितिलाई हेरेर भुर्तेलको बर्हिगमनपछि कि कुशल मल्ल कि दीपेन्द्रसिंह ऐरीलाई ब्याटिङ गर्न पठाउनु पथ्र्यो । यदि त्यसो भएको भए पावर प्लेमा नेपालले कम्तिमा पचास रनको आकडा पार गर्न सक्थ्यो । यदि त्यसो भएको स्थितिमा नेपालले कम्तिमा बाँकी पन्ध ओभरमा १२० रन बनाउन सकेको भए । नेपालले युएईलाई मध्यम स्तरको १७० देखि १८० सम्म लक्ष्य दिन सक्थ्यो । त्यसो भएको भए नेपालको जीत पक्का पक्की हुन सक्थ्यो । किनभने आजको खेलमा नेपालका बलरहरुले राम्रो पदर्शन गरेका थिए । त्यस्तै रोहितले युएईका बलरहरुको संभावित सर्ट बलको रणनीतिलाई बुझ्न सकेनन् । युएईले पछिल्लो समय नेपालविरुद्ध सर्ट बललाई हतियार बनाउने गरेको छ ।

आफु सर्ट बलमा खेल्न पनि नसक्ने तर मैदानमा उत्रिनै पर्ने उनको गम्भीर त्रुटी हो । रोहितको बलियो स्ट्रेन्थ भनेको स्पिनविरुद्धको ब्याटिङ हो तर जसरी पनि उनलाई आफ्नो स्थान पक्का गर्नु बाहेक अरु जीत हारको मतलब देखिदैन । यो कप्तान रोहितको गैरजिम्मेवारीपन हो । अर्को भाषामा भन्ने हो भने यो प्रवृति कप्तान रोहित पौडेलको चरम आत्मकेन्द्रीत व्याक्तिवादको भद्दा नमुना पनि हो । अख्तियारीको एक प्रकारले जानी जानी दुरपयोग नै गरिएको हो भन्ने क्रिकेटलाई सामान्य प्रकारले बुझ्ने जो कोहीले पनि सहजै भन्न सक्छ । कमजोर टिमविरुद्ध जितेर होईन, बलियो टोलीविरुद्ध आफ्नो टोलीलाई कडा प्रतिस्पर्धिका रुपमा उतार्नु नेतृत्वको दायीत्व हो । जसबाट रोहित बारम्बार चुक्दै आएका छन् । त्यसैले बादरको हातमा नरिवल र रोहितको हातमा नेपाली क्रिकेटको कप्तानी भन्दा फरक पर्दैन ।

कप्तान रोहित पौडेल र प्रशिक्षक मोन्टी देसाईले राम्रो क्षमता भएका ओपनर अर्जुन साउदलाई पर्याप्त अवसर नदिई टोलीबाट करिब/करिब विस्तापित गरिसकेका छन् । अर्जुन साउदको मनोबल नराम्ररी खस्किन पुगेको छ । उनमा भएको पोजिटिभनेस पछिल्लो समय रक्षात्मक बन्न पुगेको उनको पोफोमेन्सले देखाईरहेको छ । त्यस्तै राम्रो फर्ममा रहेका अर्का ओपनर अनिल कुमार शाहलाई पनि किनारा लगाईसकेका छन् । यस्तो प्रकारको कप्तान र कोचको गैरजिम्मेवारीपनले नेपालको क्रिकेटको ओपनिङ यथास्थितिमा अल्झाई राख्न आगोमा घ्यु थप्ने काम गरेको छ । यसको मतलब कुशल भुर्तेल र आसिफ शेखको क्षमतालाई न्यूनिकरण गर्न खोजिएको भने होईन ।

यदि नेपाली क्रिकेटलाई योभन्दा माथिल्लो स्तरको टेस्ट देशहरुलाई टक्कर दिन सक्ने टोलीको स्तर उकास्ने हो भने रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखजस्ता प्रमुख भूमिकामा रहेका नेपाली प्रमुख खेलाडीले आफ्नो ब्याटिङमा विकास गर्न जरुरी छ । सर्ट बलमा ब्याटिङ गर्न आफुलाई अभ्यस्त बनाउन जरुरी छ । नत्र नेपाली क्रिकेट टोली घरको बाघ र घर बाहिरको स्याल भन्ने उखान जस्तै मलेशिया, कतार मंगोलियाजस्ता कमजोर टिमको लागि तन्नेरी बाघ र एसोसिएट्स र ओडिआई नेशनका अगाडी स्याल बाहेक बढ्ता अरु केही हुने देखिदैन ।


प्रतिक्रिया दिनुहोस !